चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई १ करोड २३ लाख ६ हजार ८४२ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका ४१२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विभिन्न समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुले गराएका घटनाबापत सो रकम पीडितलाई बुझाइएको हो । उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका ८ जनाको परिवारलाई ८० लाख, घाइते २७ जनाको उपचार खर्च १६ लाख ९३ हजार ६४२, २४४ वटा खाद्यान्नबाली क्षतितर्फ १४ लाख १७ हजार राहत रकम बुझाइएको उनले बताए ।
उनका अनुसार ९५ पशुधन क्षतितर्फ ९ लाख १९ हजार ७००, १८ घरगोठ क्षतितर्फ १ लाख ६६ हजार, १३ भण्डारण गरेको अन्नबाली क्षतिका लागि ८३ हजार र कुखुरा क्षतिबापत २७ हजार ५०० राहत रकम बुझाइएको छ ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट हुने क्षतिबापत राहत रकम दिने गरिन्छ । मृत्यु भएमा निजको परिवारलाई १० लाख दिने व्यवस्था छभने घाइते र अन्य क्षतिमा दिइने रकम प्रकृति हेरेर दिइने गरिन्छ । सूचना अधिकारी थापामगरले भने, ‘वन्यजन्तु मानव बस्तीमा पसेर गर्ने क्षतिको परिपूर्ति हुन नसक्ने भए पनि केही राहत होस् भनेर निकुञ्जले राहत वितरण गर्ने गरेको छ ।’ मानव वन्यजन्तुबीचको द्वन्द्वका कारण हुने यस्ता घटना न्यूनीकरणका लागि निकुञ्जले राहतको कार्यक्रम मात्र नभएर विभिन्न किसिमका चेतनामूलक कार्यक्रम पनि गर्दै आएका छन् ।
प्रतिक्रिया