लाईफ इन्स्योरेन्स कर्पोरेशनको साउन २४ साधारणसभा गर्ने


लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आगामी साउन २४ गते साधारणसभा गर्ने भएको छ । कम्पनीको साधारणसभाले ७० प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने छ ।


नेपाल पुलिस क्लबको सभाहलमा हुने सोसाधारण सभामा शेयरधनीहरुलाई चुक्ता पूँजीको ३५.५३ प्रतिशतका दरले ५३ करोड १२ लाख रुपैयाँ बराबरको नगद लाभांश र ३४.४६ प्रतिशतका दरले ५१ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस शेयर गरी कुल ७० प्रतिशतको लाभांश वितरण प्रस्ताव रहेने छ ।

त्यसैगरी कम्पनीले आफ्नो जारी, अधिकृत तथा चुक्ता पूँजी शिर्षकहरुमा रहेको एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार रुपैयाँलाई वृद्धि गरी २ अर्ब एक करोड रुपैयाँ पुर्याउने र सोही अनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने विशेष प्रस्ताव समेत रहेको छ ।

साधारण सभाबाट कम्पनीले कर्पोरेट कार्यलयको ठेगाना काठमाण्डौ जिल्ला, काठमाण्डौं माहानगरपालिका वडा नं. २८स्टार मल पुतलीसडकमा रहने गरी संशोधन गर्ने भएको छ । यस्तै कम्पनीमा १ जना स्वतन्त्र सञ्चालक र कम्तीमा एक जना महिला सञ्चालक सहित ६ जना सञ्चालकहरु रहने प्रस्ताव समेत साधारणमा राखिने कम्पनीले जनाएको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन ९ गतेदेखि साधारण सभासम्म शेयरधनीदर्ता किताब बन्द गर्ने भएकाले साउन ८ गतेसम्म कम्पनीको शेयर खरीद गरी शेयरधनी कायम हुने लगानीकर्ताहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० रुपैयाँ छ। प्रस्तावित ३४.४६ प्रतिशत बोनस वितरण पश्चात एलआईसी नेपालको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी २ अर्ब एक करोड नाघ्नेछ ।