गुराँस लाइफको लिलामी शेयरको कटअफ मूल्य दोस्रो बजार मूल्य नजिक

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले लिलामी ल्याएको साधारण शेयरको प्रारम्भिक कटअफ मूल्य दोस्रो बजार मूल्य आसपासमै कायम भएको छ ।

इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी नक्सालमा भर्खरै शिलबन्दी बोलपत्र खोल्ने काम सकिएसँगै दोस्रो बजारमूल्य आसपासमै मूल्य निर्धारण भएको हो । शिलबन्दी बोलपत्र बिहान १० बजेदेखि खुला गरिएको थियो।

क्यापिटलका अनुसार इन्स्योरेन्स कम्पनीले लिलामीमा ल्याएको सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता शेयरको प्रारम्भिक कटअफ मूल्य ६०४ रुपैयाँ कायम भएको छ । सोमबार कम्पनीको साधारण शेयर प्रतिकित्ता ६१४ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ । यसअनुसार सोमबार कायम भएको प्रारम्भिक कटअफमूल्य बजारमूल्यभन्दा १० रुपैयाँ तल मात्र कायम भएको हो ।

साधारण शेयर खरीदका लागि १ हजार २०४ जनाबाट आवेदन परेको क्यापिटलले जनाएको छ ।

यसैगरी संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता शेयरको प्रारम्भिक कटअफमूल्य १६६ रुपैयाँ निर्धारण भएको छ । संस्थापक शेयरका लागि ५७ वटा आवेदन परेको थियो ।

साधारण शेयरका लागि अधिकतम ६३६ रुपैयाँसम्म तथा संस्थापक शेयरका लागि १७५.३० रुपैयाँसम्मको आवेदन परेको क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत हकपद शेयर निष्काशन तथा बिक्री खुला गरेकोमा अवितरित उक्त हकप्रद शेयर असोज १३ देखि १९ गते सोमबारसम्म लिलाम बढाबढ प्रक्रियाबाट बिक्रीमा ल्याएको थियो ।

लिलामी शेयरमामा एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, वीरगञ्ज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ्ग शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिने व्यवस्था गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ असाेज २०७७, सोमबार  १७ : ३२ बजे