दशैंमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल, काठमाण्डौं फर्कने जहाजमा आधाभन्दा कम मात्रै

0
Shares

दशैंको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साह जनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैंका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैंका लागि हवाई उडानमा बुकिङ सामान्य छ ।

काठमाण्डौंबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौं फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् ।

सामान्य अवस्थामा दशैं आउने दुई साता अघि नै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो । अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुको चाप छैन ।

नजिकिएको दशैं लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।

हवाई सेवा प्रदायक कम्पनीले भाडादर सस्तो हुँदा पनि यस पटक बुकिङ उत्साहबद्र्धक नभएको बताउँछन् । आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स लगायत कम्पनीको बुकिङ अहिले उत्साहजनक छैन । भएका बुकिङ पनि काठमाडौँबाट बाहिर जाने एकतर्फी मात्रै सामान्य छन् ।

बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले नजिकिएको दशैंका लागि हवाई टिकट बुकिङ उत्साहजनक नरहेको बताए। उनका अनुसार काठमाडौंबाट एकतर्फी बुकिङ सामान्य छ । फर्कदा आधाभन्दा पनि कम यात्रु हुन्छन् । यसपटक दशैंको एक/दुई दिन अघि पनि यात्रुले सहजै टिकट पाउने निर्देशक जोशीले बताए । बुद्धले अहिले दैनिक दुवैतर्फी गरी ६४ उडान गर्दै आएको छ ।

सामान्य अवस्थामा दशैंका बेला विशेष गरी फूलपातीदेखि विजयदशीसम्मको १५ दिन अघि नै टिकट बुकिङ भइसक्थ्यो । यो पटक सस्तो भाडादर कायम गर्दा पनि यात्रुको आकर्षण बढेको छैन ।

यती एयरलाइन्सका यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले सधैँको बुकिङ पहिलाको जस्तो उत्साहबद्र्धक नभएको बताउँछन् । कोभिड महामारीका कारण यात्रुमा एकखालको त्रास रहेकाले हवाई भाडादर सस्तो हुँदा पनि बुकिङ राम्रो छैन ।

प्रवक्ता बर्तौलाका अनुसार तुम्लिङटार बाहेकका गन्तव्यममा सधैँका लागि सहजै टिकट पाइनेछ । यो गन्तव्यमा बुद्ध र यतीका सानो ३० सिट क्षमताका जहाजले उडान भर्ने हुँदा हरेक वर्ष अत्यधिक चाप हुने गरेको छ ।

यतीले दैनिक दुईतर्फी ३८ उडान गर्दै आएको छ । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि कोभिड महामारीले अस्तव्यस्त पारेका कारण दशैँका लागि बुकिङ सन्तोषजनक नभएको बताउँछन् ।

अहिले दशैँका लागि टिकट सहज र सस्तो भएको र एकतर्फी कुपेन्सी राम्रै रहेको उनले बताए । श्रीले पोखरा, सिमरा, जनकपुर, राजविराजबाहेक अन्य सबै गन्तव्यमा उडान गरिरहेको छ । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले यसपटकको दशैँका लागि हवाई उडानमा उत्साहजनक नभएको बताए।

उनका अनुसार अहिले उडिरहेकै जहाजमा पनि फूल अकुपेन्सी छैन । सधैँको तीन।चार दिन दुईरचार उडान थपिने प्रवक्ता शर्माले बताए। भद्रपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा दशैंका लागि केही उडान थपिनसक्ने उनको भनाई छ ।

विगतका दशैं, तिहार, छठलगायत चाडपर्वका बेला हवाई जहाजको टिकट पाउनै यात्रुलाई हम्मे पर्दथ्यो । कोभिड–१९ महामारीका कारण ६ महिनापछि मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालनमा छ ।

राजधानी काठमाडौं लगायत कतिपय जिल्लामा महामारी उच्च बिन्दुमा पुगेको छ । महामारीबाट जोखिन यस पटकको दशैंमा विगतको जस्तो चहलपहल हुने छैन । सोही कारण पनि हवाई क्षेत्रमा उत्साह छैन । सरकारले पनि दशैं जहाँ जस्तो अवस्थामा रहेको त्यही मनाउन भीडभाड नगर्न आग्रह गरिरहेको छ ।

नेपालमा आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ असाेज २०७७, मंगलबार  १८ : ५६ बजे