कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै


जनकपुरधाम । तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा तथा घुम्ती पसल हटाउन थालेको हो । पटकपटक सूचना जारी गर्दा पनि सम्बन्धित व्यक्तिले संरचना नहटाएपछि हटाउने काम अघि बढाइएको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए।

उनका अनुसार सडक सीमाभित्रका संरचनाका कारण सडक निर्माण तथा विस्तारको काम प्रभावित भइरहेको छ । सडकसीमा क्षेत्र खाली गर्न नसक्दा केही स्थानमा सडक निर्माणकार्य अझै सुरु हुन सकेको छैन । आवश्यक परे बल प्रयोग गरेर भए पनि त्यस्ता संरचना हटाइने उनले बताए ।

उक्त सडकखण्डको अधिकांश भाग कालोपत्र भइसकेको छ भने धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख महतोले जानकारी दिए।

पुल सञ्चालनमा आएपछि उक्त सडकखण्डमा सवारीसाधनको चाप बढ्ने भएकाले सडक सीमाभित्रका संरचना हटाउन थालिएको उनको भनाइ छ । मङ्सिरको पहिलो साता प्रधानमन्त्री वालेन्द्र साहबाट सडकखण्डको निरीक्षण हुनसक्ने तयारीसमेत भइरहेको उनले बताए।

विसं २०६८ मा कमला पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले पाएको थियो । विसं २०७८ असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलर भाँचिएपछि निर्माण सम्पन्न हुन सकेको थिएन । पुल क्षतिग्रस्त भएपछि स्थानीयवासीले लामो समयसम्म नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको थियो ।

पुल पुनर्निर्माणका क्रममा देखिएका प्राविधिक तथा अन्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरिएपछि निर्माणले गति लिएको प्रमुख महतोले बताए । उनका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने सुपर स्ट्रक्चरको ढलान भइरहेको छ । पुलको फाउन्डेसनसहित तीन वटा पिलरको सवलीकरण तथा सुपर स्ट्रक्चरको स्ल्याब ढलान कार्य अन्तिम चरणमा पुगेको छ ।

पुलका दुवैतर्फ जोडिने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मङ्सिरदेखि सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।

यसैबीच, हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको कुल ४०६ दशमलव ४३ किलोमिटरमध्ये हालसम्म ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र भएको छ । उक्त सडकखण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भइसकेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहामा कुल ५७ दशमलव ५२ किलोमिटर सडकमध्ये २९ दशमलव ९८ किलोमिटर निर्माण सम्पन्न भएको छ भने २७ दशमलव ४६ किलोमिटर निर्माणाधीन अवस्थामा छ ।

त्यस्तै, धनुषामा कुल ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १४ दशमलव ९४ किलोमिटर निर्माणाधीन छ ।

महोत्तरीमा कुल ९३ दशमलव पाँच किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने एक दशमलव ९४ किलोमिटर निर्माण हुन बाँकी छ ।

सर्लाहीमा कुल १६६ दशमलव दुई किलोमिटरमध्ये १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १४ दशमलव ५१ किलोमिटर निर्माणाधीन अवस्थामा रहेको सूचना अधिकारी रायले जानकारी दिए।

आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सडक सीमाभित्रका घरटहरा हटाउन भएको ढिलाइ र विभिन्न स्थानमा जग्गासम्बन्धी विवादका कारण केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए। बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।