आज (असोज २८ गते) तीन कम्पनीले अलग– अलग स्थानमा साधारण सभा सम्पन्न गर्दैछन् । नेपाल इन्भेष्टमेण्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स र नाडेप लघुवित्त वित्तीय संस्थाले बुधबार साधारण सभा आह्वान गरेका हुन् ।
नेपाल इन्भेष्टमेण्ट बैंकले रजिष्टर्ड कार्यालय दरबारमार्ग काठमाण्डौंमा बिहान १० बजे विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको सभाले मूल्याङ्कनकर्ताबाट सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सिटी एक्सप्रेसको शेयरमूल्य (१०० बराबर ३० कित्ता) पारित गरी प्राप्ती सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा छ ।
यसैगरी अन्तिम सम्झौतापत्र तथा प्राप्ति कार्यका लागि भए गरेका सम्झौताहरुको अनुमोदन, लेखापरिक्षक तथा मूल्याङ्कनकर्ताको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने तथा सिटी एक्सप्रेस फाइनान्स प्राप्ती पश्चात पूँजी वृद्धि मुताविक बैंकको प्रबन्धपत्र संशोधन गर्ने तथा नियामक निकायबाट प्राप्त हुने निर्देशन अनुरुप थप कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि विशेष साधारण सभामा रहेको छ ।
साधारण सभाका लागि बैंकले असोज १६ गते बुकक्लोज गरेको थियो। यसअनुसार असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
त्यसैगरी सिटी एक्सप्रेस फाइनान्सले पनि बिहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय घण्टाघर, काठमाडौंमा विशेष साधारण सभा आह्वान गरेको छ । फाइनान्सले पनि नेपाल इन्भेष्टमेण्ट बैंकसँग विलय हुने विशेष प्रस्ताव सहित अन्य प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।
प्राप्ती प्रकृयामा गएपछि २०७६ पुस २८ गतेदेखि नै फाइनान्सको शेयर कारोबार रोक्का भएकाले सो मितिसम्म कायम शेयरधनीले सभामा भिडियो कन्फरेन्स मार्फत सहभागिताा जनाउन सकिने जनाइएको छ ।
नाडेप लघुवित्तले पनि आजै बिहान ११ बजे रानीबन पार्टी एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।
लघुवित्तको साधारण सभाले सञ्चालक समितिबाट आव २०७५।७६ बाट प्रस्तावित चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
लघुवित्तले साधारण सभाका लागि अपोज १४ गते बुकक्लोज गरेको थियो। यसअनुसार असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तको लाभांश पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया