मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्त हुने सम्भावना कति ?


काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने भएको छ । आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ ।

सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् ।

समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ । समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने छ ।

सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ । यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।

उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ । सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।

२५ चैतदेखि नेतृत्वविहीन रहेको राष्ट्रबैंकमा नयाँ गभर्नर चयन गर्न सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा १६ चैतमा गभर्नर सिफारिस समिति बनाएको थियो । महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले नयाँ गभर्नर सिफारिस प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित मिति: ५ जेठ २०८२, सोमबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।