आयात २२ प्रतिशतले घट्दा निर्यातमा सामान्य सुधार

0
Shares

चालु आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु निर्यात १०.५ प्रतिशतले वढेको छ भने आयात २२.१ तले घटेको छ ।

चालु आर्थिक वर्षको भदौसम्ममा कुल निर्यात २० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आवको सो अवधिमा निर्यात २५.९ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को भदौसम्ममा कुल वस्तु आयात २२.१ प्रतिशतले घटेर १७८ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्ज, मेची, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ । यस्तो घाटामा २४.९ प्रतिशतले कमी आई १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ३.१ प्रतिशतले ह्रास आएको थियो ।

चालु आवको भदौसम्ममा निर्यात/आयात अनुपात ११.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ कात्तिक २०७७, बुधबार  २० : ११ बजे