चालु आर्थिक वर्षको भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५२ प्रतिशत रहेको छ । यो मूल्य वृद्धि गत आवको सोही अवधिको तुलनामा थोरै हो ।
गत आवको भदौमा मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो । तर, उपभोक्ता मुद्रास्फीति घटेको भएपनि तरकारी तथा गेडागुडीको मूल्यमा उच्च वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आवको भदैमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६८ प्रतिशत रहेको छ ।
चालु आवको भदौमा काठमाडौं उपत्यकामा ३.६६ प्रतिशत, तराईमा ४.७१ प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ४.५१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ भदौमा यी क्षेत्रहरुमा क्रमशः ७.९० प्रतिशत, ५.६९ प्रतिशत, ५.०९ प्रतिशत र ५.०२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
२०७७ भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो । भदौ महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.९३ प्रतिशत, ८.६२ प्रतिशत र २.६१ प्रतिशत रहेको छ । यो अवधिमा निर्माण सामग्रीको थोक मूल्य २.१३ प्रतिशतले घटेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया