गुराँस लाइफको हकप्रद शेयर बुकक्लोज अघि नै बिक्री गर्ने माहोल बनाउँछौंः बिक्री प्रबन्धक

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुकक्लोज अघि नै हकप्रद शेयर सूचीकरण गरेर करोबारको व्यवस्था मिलाउने जनाएको छ ।

कम्पनीले जारी गरेको हकप्रद शेयर सूचीकरण गरेर बिक्री गर्ने समयअघि नै बुकक्लोज हुने अवस्थाका बीच गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतबार वा सोमबार भित्रै शेयर सूचीकरणको प्रकृया टुङ्गिने जनाएको हो ।

यसअनुसार हकप्रद शेयर भरेका लगानीकर्ताले कम्पनीको बोनस शेयर नखाई बोनसको शेयरमूल्य समायोजन अघि नै शेयर बिक्री गरेर बाहिरिन चाहेमा पाउने भएका छन् ।

कम्पनीको शेयर आइतबार वा सोमबारभित्र सूचीकरण भएमा लगानीकर्ताले दुईदेखि तीन कारोबार दिन उक्त शेयर कारोबारका लागि पाउनेछन् ।

कम्पनीले आगामी मंसिर ४ गते आह्वान गरेको दशौं वार्षिक साधारण सभाका लागि कार्तिक २० गते बुकक्लोजको मिति तोकेको छ । यसअनुसार कात्तिक १९ गते अर्थात आगामी बुधबारसम्ममा शेयर किन्नेहरुले मात्र कम्पनीको प्रस्तावित ५.२५ प्रतिशत बोनस शेयर (शतप्रतिशत हकप्रदले समेत पाउने) लाभांश पाउनेछन् ।

गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेर आर्थिक वर्ष २०७६/७७ को अन्त्यतिर मात्र निष्काशन गरेको थियो । इन्स्योरेन्सले खरीद आह्वान गरेर हकप्रद शेयर पूर्ण बिक्री नभएपछि लिलामी प्रकृयाबाट बिक्री गरेको थियो ।

उता गुराँस लाइफ इन्स्योरेन्सका सूचना अधिकारी बोधलाल पुरीले हकप्रद सूचीकरणमा भएको ढिलाईले कम्पनीका लगानीकर्तालाई असहज हुने स्वीकार गर्दै कोभिड संक्रमणका कारण उत्पन्न परिस्थितीले सबै प्रकृयाहरु ढिला हुँदा समस्या भएको बताउँदै बुक क्लोजअघि नै शेयर सूचीकरण गराई सक्ने बताएका छन् ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७२/७३ को आठौं वार्षिक साधारण सभाबाट पारित गराएको ५० प्रतिशत हकप्रद २०७६ जेठमा निष्काशन गरेको थियो । त्यस अघि नै २०७५ को चैतमा कम्पनीले नवौं वार्षिक साधारण सभा गर्दै लगानीकर्तालाई ८ प्रतिशत बोनस शेयर बितरण गरेको थियो ।

आगामी मंसिर ४ गते बोलाइएको आर्थिक वर्ष २०७४/७५ को दशौं वार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद बिक्री पछि कायम शेयरधनीलाई ५.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते अर्थात आगामी बिहीबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । आगामी बुधबारसम्ममा शेयर किन्नेहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।