प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् ।
व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन्।
सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहका वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।
रोजगारीको हक सम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम स्थानीय तहबाट न्यूनतम एक सय दिनको रोजगारी कार्यक्रम सञ्चालन गरिनेछ ।
सोअनुसार शुक्लागण्डकीमा ५८८ बेरोजगार सूचीकृत भएको नगरपालिकाका रोजगार संयोजक प्रतिभा जिसीले बताए । कार्यक्रमका लागि उक्त नगरपालिकालाई सरकारले ५१ लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट गरी कार्यपालिकामा पेश गरिने र कार्यपालिकाले पारित गरेपछि तत्कालै काम शुरु गर्ने तयारी गरिएको छ । “तिहारपछि काम शुरु गराउने योजना छ,” उनले भने ।
म्याग्देमा ४४४ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक पविन्द्रकुमार शाहीले न्यूनतम एक सय दिनको रोजगारीका लागि माघदेखि काम शुरु गर्ने तयारी गरिएको जानकारी दिए। कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई रु ५१ लाख ९२ हजार बजेट विनियोजन भएको छ ।
बन्दीपुरमा ३६० बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक शरणसिंह गुरुङका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकारका तर्फबाट ५१ लाख ७० हजार बजेट विनियोजन भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा नै ‘गाउँ प्रमुखसँग रोजगार कार्यक्रम’ पनि सञ्चालन गर्दैछ ।
बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यसहित गाउँपालिका आफैँले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । त्यसका लागि गाउँपालिकाले ३० लाख बजेट विनियोजन र ५० योजना छनोट गरेको छ । “प्रधानमन्त्री रोजगार र गाउँ प्रमुख रोजगार कार्यक्रम सँगसँगै अगाडि बढाउँदैछौँ”, रोजगार संयोजक गुरुङले भने, “त्यसका लागि अहिले स्थलगत अध्ययन, लागत इष्टिमेटका काम भइरहेको छ ।” उक्त कार्यक्रम तिहारलगत्तै शुरु गर्ने योजना बनाइएको छ ।
आँबुखैरेनीमा ५४९ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक कमला गैह्रेका अनुसार कार्यक्रम सञ्चालनका लागि योजना छनोट भइसकेको र तिहारलगत्तै काम शुरु गरिने छ । कार्यक्रमका लागि ५१ लाख बजेट विनियोजन भएको छ । व्यासमा भने ९९४ बेरोजगार सूचीकृत भएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया