एसियाली पूर्वाधार लगानी बैंकमा आबद्धता बढ्दो, तीन वर्षमा १०० पुग्यो

0
Shares

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सदस्यता लिने मुलुकहरुको संख्या एकसय पुगेको छ । चीनको पहलमा स्थापित यस बैंकमा अफ्रिकी मुलुकहरु बेनिन, जिबुटी र रुवान्डाले सदस्यता लिएसँगै बैंकका सदस्यहरुको संख्या एक सय पुगेको हो ।

लक्जेम्बर्गमा आयोजित बोर्ड अर्फ गभर्नरको चौथो वार्षिक बैठकका क्रममा तीन मुलुकलाई सर्वसम्मत रुपमा नयाँ सदस्यता प्रदान गरेको घोषणा गरिएको थियो ।

तीनै मुलुकले बैंकको पूँजी लगानी रकम बापतको पहिलो किस्ता बुझाएपछि औपचारिक सदस्यता प्राप्त गर्नेछन् । बोर्ड बैठकले चीनका अर्थमन्त्री लिऊ कुनलाई बोर्डको अध्यक्षमा निर्वाचित गरेको छ ।

त्यस अवसरमा अर्थमन्त्री लिऊ कुनले बैंकको सदस्य संख्या १०० पुगेको र लगानी आठ अर्ब ५० करोड अमेरिकी डलर भइसकेकाले यसले बहुपक्षीय विकास प्रणालीको महत्वपूर्ण अंगका रुपमा आफूलाई स्थापित गरेको बताए।

चिनीयाँ पहलमा यो बैंक जनवरी २०१६ मा स्थापना भएको थियो । शुरुमा यसका संस्थापक मुलुकहरु ५७ वटा थिए। पूर्वाधार निर्माण मार्फत दिगो विकासलाई मद्दत गर्नु यस बैंकको प्रमुख उद्देश्य हो ।

एआईआईले तीन वर्षमा गरेका कार्यहरुको प्रशंसा गर्दै संयुक्त राष्ट्रसंघ महासभाले बैंकलाई स्थायी पर्यवेक्षकको मान्यता दिएको चिनियाँ अर्थमन्त्रीले बताए।
एआईआईबीका सदस्य मुलुकहरुले विश्वको कूल जनसंख्याको ७८ प्रतिशत र विश्वको कूल गार्हस्थ्य उत्पादनको ६३ प्रतिशत हिस्सा ओगटेका छन् । सदस्य मुलुकहरुको समर्थनमा बैंकले दिगो विकासका लक्ष्य हासिल गर्नेगरी नमुनायोग्य कार्यहरु गरिरहेको बताए ।

बैंकको बोर्ड अफ गभर्नरको पाँचौं बैठक आगामी वर्ष सन् २०२० को जुलाईमा बेइजिङमा हुँदैछ। एआईआईबीले १८ देशमा आठ अर्ब ५० करोड अमेरिकी डलरका ४६ परियोजना स्वीकृत गरेको छ जसमा राजमार्ग निर्माण र ऊर्जा उत्पादन प्रमुख रहेका छन्।