महासंघमा महादंगल: ढकाल समुहका सदस्यहरुले दर्ता गराए मनोनयन


नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका उम्मेदवारहरुले मनोनयन दर्ता गराउने क्रम अन्तिम चरणमा पुगेको छ ।

मंगलबार वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल समुहका सदस्यहरुले मनोनयन दर्ता गराएसँगै यो क्रम अन्तिम चरणमा पुगेको हो । 

मंगलबार ढकाल सहित उपाध्यक्षका उम्मेदवार समेत टेकूस्थित महासंघको कार्यालयमा पुगेर सदस्यहरुको मनोनयन दर्ता गराएका हुन् । ढकालको निर्वाचन सचिवालयका अनुसार एसोसिएट्स, वस्तुगत र जिल्ला नगरतर्फका सदस्यहरुले मंगलबार मनोनयन दर्ता गराएका हुन् ।

जस अनुसार बस्तुगततर्फ ढकाल प्यानलबाट सदस्यहरुमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठको मनोनयन दर्ता भएको हो । बाँकी ३ जनाको केही दिनभित्रै टुंगो लगाएर मनोनयन दर्ता हुने बताइएको छ ।

जिल्ला नगरतर्फबाट सदस्यहरुमा अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् । राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतको मनोनयन यस अघि नै दर्ता भईसकेको छ । बाँकी उम्मेदवारहरुको मनोनयन केही दिनमा हुने बताइएको छ ।

एशोसिएट्सतर्फका सदस्यहरु अजित बस्नेत, अम्बिका प्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्की लगायतले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी सदस्यहरुले पनि केही दिनभित्रै आआफ्नो उम्मेदवारी गर्दा गराउने अम्बिका प्रसाद पौडेलले जानकारी दिए ।

सदस्यहरुको मनोनयन दर्ता गर्ने क्रममा वरिष्ठा उपाध्यक्षका उम्मेदवार चन्द्र प्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलिङको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफु नेतृत्वको टीमको जीत आवश्यक रहेको बताए । ‘निजी क्षेत्रका सानो व्यवसाय प्रवद्र्धनदेखि तथा ठूला उद्योगको संरक्षण तथा प्रवद्र्धन गर्दै वैदेशिक लगानी भित्र्याई देशमा रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरुप मेरो नेतृत्वमा हामीले उम्मेदवारी दर्ता गराएका छौं,’ ढकालले भने, ‘तसर्थ मेरो नेतृत्वको टीमले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघको तर्फबाट अफ सशक्त रुपमा नीतिगत रुपमा व्यवसायीक मैत्री वातावरण बनाउन सररकारसँग लविङ गर्नेछ ।’

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्षमा रामचन्द्र संघईले यस अघि नै मनोनयन दर्ता गराई सकेका छन् ।
कोरोना भाइरस संक्रमणका कारण जारी लकडाउनले २ पटक स्थगित भएको महासंघको ५४ औं साधारण सभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते ह्ँदैछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।