मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा ४६ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले खुद नाफा २४२.५२ प्रतिशत अर्थात १ करोड ११ लाख ६१ हजार रुपैयाँ बढाएको हो।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढोत्तरी हुँदा उसको खुद नाफा बढेको हो। लघुवित्तको खुद ब्याज आम्दानी झण्डै ६७ लाख ९५ हजार रुपैयाँ बढेको छ भने सञ्चालन नाफा १ करोड ४३ लाख ९८ हजार रुपैयाँ बढेको छ । असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ५६ लाख खुद नाफा र २ करोड १५ लाख ८३२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
कोभिड असरका कारण सरकारले भदौमा गरेको लकडाउनका कारणले नियमित किस्ता असुली, बचत संकलन तथा कर्जा लगानीमा असर पर्दा समेत लघुवित्त उत्कृष्ट सुधार गर्न सफल भएको हो । लघुवित्तले अन्य सञ्चालन आम्दानीबाटै १ करोड १६ लाख रुपैयाँ आम्दानी गरेपछि लघुवित्तको नाफामा आकर्षक सुधार भएको हो । गत आवको यसै वधिमा यस्तो आम्दानी ६९ लाख ५२ हजार थियो।
समीक्षा अवधिमा लघुवित्तले ४१ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन तथा ९१ करोड ४१ लाख सापटी गरी १ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
चुक्ता पूँजी ११ करोड १७ लाख ४० हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ७९ पैसा, प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात १४.३३ गुणा रहेको छ ।यस अवधिमा लघुवित्तको जगेडा कोषमा ८ करोड ४५ लाख रुपैयाँ रहेको छ।
गत आवको प्रथम त्रैमासको तुलनामा लघुवित्तले खराब कर्जामा पनि केहि सुधार गरेको छ। गत वर्षको यसै अवधिमा २।५२ प्रतिशत रहेको खराब कर्जा घटेर १.३८ प्रतिशतमा झरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया