साउन लागेपछि शेयर बजारमा छायो हरियाली, बजटेका नयाँ व्यवस्थाले थप्यो उत्साह

0
Shares

नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार रकममा समेत सुधार आएका छ ।

यसदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक १५.८५ अंकले बढेर १२७४.८६ अंकमा पुगेकोे छ ।

नयाँ आर्थिक बर्ष लागेसँगै बजेटमा समावेश भएका नयाँ व्यवस्थाहरु लागू हुने भएपछि बजारमा सकारात्मक प्रभाव परेको हो । साथै केहिदिन अघि धितोपत्र बोर्डले सार्वजनिक गरेको आगामी नीति तथा कार्यक्रमले पनि बजार बढाउन सहयोग पुर्याएको लगानीकर्ताहरु बताउँछन् ।

असार मसान्तमा ऋणको व्याजको कारण लगानीकर्ता दबाबमा थिए जसकारण बजार सुस्ताएको थियो। तर नयाँ आर्थिक वर्ष लागेपछि लगानीकर्तामा नयाँ उत्साह देखिएको छ । अबको केहि दिनहरुमा कम्पनीहरुको चौथौ त्रैमास सार्वजनिक हुने र केहि महिनाभित्र लाभांश समेत पाइने हुँदा पनि लगानीकर्ताले शेयरमा लगानी बढाउन थालेका हुन् ।

लगानीकर्ताले माग गरे अनुरुपको पूँजीगत लाभकर गणना विधी र सोही अनुरुप सरकारले बजेटमार्फत नै पूँजीगत लाभकर घटाएपछि त्यसले लगानीकर्तामा थप आत्मबल बढेको उनीहरुको भनाई छ ।

दिनभर कुल ४२ करोड ६७ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा १ सय १७ कम्पनीको १३ लाख ७५ हजार कित्ता सेयर खरिदबिक्री भए । सबैभन्दा बढी नेपाल बैंककोे चार करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड ९५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

११ समूहको कारोबार भएको बजारमा दुई समूहको उपसूचक घटेको छ भने ९ समूहको बढेको छ। वाणिज्य बैंक समूहमा सबैभन्दा बढी १.४७ प्रतिशतले उकालो लाग्यो ।

यस दिन उन्नति माइक्रोफाइनान्सको शेयरमुल्य सबैभन्दा धेरै ७ प्रतिशतले बढेको छ । शेयरमुल्य धेरै बढ्ने १० कम्पनीमध्ये ७ लघुवित्त रहेका छन्। सिभिल लघुवित्तको शेयरमुल्य भने सबैभन्दा धेरै ९ प्रतिशतले घटेको छ।