नेपाल इन्स्योरेन्सको खुद नाफा साढे ५ करोड

0
Shares

नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले चालु आर्थिक वर्ष २०७७।७८ को पहिलो त्रैमासमा ५ करोड ४५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ४ करोड ९१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ११ प्रतिशतले नाफा बढाएको हो ।

असोज मसान्तसम्ममा कम्पनीले १९ करोड ५ लाख ४० हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । गत वर्षको यही अवधीमा कम्पनीले १५ करोड ८५ लाख ८३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क २०.१५ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९.९१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७३.४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.११ गुणा छ ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा ४५ करोड ५८ लाख ७० हजार रुपैयाँ र जगेडा कोषमा ३८ करोड ९२ लाख ८० हजार रूपैयाँ छ ।

कम्पनीले ४८ करोड ३५ लाख ८० हजार रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा र २ अर्ब ६ करोड २३ लाख ९४ हजार रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा परिचालन गरेको छ । यस अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १ करोड ६० लाख २० हजार र पुनर्बीमा कमिशनबाट ४ करोड ४ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको दुबै आम्दानी गत आवको प्रथम त्रैमासको तुलनामा घटेको छ ।

यस अवधिमा कम्पनीले ३९ हजार २१७ वटा बीमालेख जारी गरेको छ । जसमध्ये १ हजार ११ वटा बीमालेख नबीकरण भएका छन् । कम्पनीले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ७१४ वटा दाबी बापत ६ करोड ५१ लाख ६९ हजार रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ३६१ वटा दाबी बापत परेको ८३ करोड ६७ लाख २१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

गत आवको यसै अवधिमा कम्पनीले ४२ हजार ७४९ वटा बीमालेख जारी गरेकोमध्ये २ हजार २०८ वटा बीमालेख नवीकरण भएका थिए । कम्पनीले ३२ करोड ४४ लाख ७८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले सो अवधिमा ४११ वटा दाबी बापत ५ करोड ३२ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको थियो भने २ हजार ६२६ वटा दाबी बापत परेको ९७ करोड ६५ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार  १४ : ०३ बजे