भारतीय साझेदार मुत्तूट फाइनान्स भित्र्याएको युनाईटेड फाईनान्समा देखियो सुधार

0
Shares

वैदेशिक रणनीतिक साझेदारका रुपमा भारतको मुत्तूट फाइनान्स भित्र्याएको युनाईटेड फाइनान्सले गत आर्थिक वर्ष उल्लेखीय नाफा बढाएको विवरण सार्वजनिक गरेको छ ।

युनाईटेड फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा झण्डै ७१ प्रतिशत ले धेरै हो । अघिल्लो बर्ष फाइनान्सले ६ करोड ४१ लाख खुद नाफा गरेको थियो ।

फाइनान्सको चुक्ता पूँजी एक अर्ब एक करोड ५ लाख रुपैयाँ रहेको छ । यसअघि ८० करोड ५ लाख पूँजी रहेकोमा भारतको मुत्तुट फाइनान्सलाई २१ लाख कित्ता संस्थापक शेयर बिक्री गरे पश्चात एक अर्ब पूँजी नाघेको हो ।

युनाईटेड फाइनान्सले भारतको कोचीस्थित मुत्तूट फाइनान्सलाई १९० रुपैयाँका दरले २१ लाख कित्ता नयाँ संस्थापक संस्थापक एफपिओ बिक्री गरेर वैदेशिक रणनीतिक साझेदारीको रुपमा भित्र्याएको थियो ।

उल्लेखीय रुपमा नाफा बढेपनि चुक्ता पूँजी बढेका कारण कम्पनीको प्रतिशेयर आम्दानी ३५ प्रतिशतले मात्र बढेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ बाट १० रुपैयाँ ८३ पैसा पुगेको छ ।

फाइनान्सको जगेडा कोषको आकारमा आर्कषक बढोत्तरी छ । फाइनान्सको जगेडा कोषमा ४८ करोड २१ लाख रुपैयाँमा छ । यस अवधिमा ६ अर्ब ५५ करोड निक्षेप संकलन गरेको फाईनान्सले ६ अर्ब ८ करोड कर्जा परिचालन गरेको छ । खुद ब्याज आम्दानी ३१ प्रतिशतले बढाएर ३१ करोड पुर्याएको छ । संचालन नाफा १२२ प्रतिशतले बढेको छ ।

फाइनान्सको निष्कृय कर्जा अनुपात समेत घटाएर ०.६५ प्रतिशतमा झारेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ७२ पैसा छ । फाइनान्सको मूल्यआम्दानी अनुपात १७.७२ गुणा बढी छ ।