काठमाडौँ । समुद्री सतहबाट १ हजार ८८० मिटरदेखि ८ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको कुल क्षेत्रफल २ हजार २४६ वर्ग किलोमिटर भूभाग समेटिएको छ भने २ लाख २४ हजार ६०० हेक्टरमध्ये खेतीयोग्य जमिन २ हजार १५६ रहेको छ ।
खेतीयोग्य भूमिको २ हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको छ । त्यसमा १ हजार ६३ हेक्टर जमिन सिञ्चित क्षेत्र हो भने अन्य क्षेत्र प्राकृतिक रुपमा खेती गरिन्छ । रैथाने बाली भन्नाले स्थानीय जातका परम्परागत रुपमा गरिँदै आएका अन्नबालीलाई बुझिन्छ ।
जौ स्थानीय हावापानी र माटो सुहाउँदो हुन्छ । मनाङमा रैथाने बालीका रुपमा आलु, गहुँ, फापर, करु, उवा र कोलु बोडीलाई लिइन्छ । विगतदेखि नै यिनै रैथाने बालीमा नै आत्मनिर्भर हिमाली जिल्ला मनाङ छ । हाल कतिपय स्थानमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन भने कतिपय स्थानमा सामान्य अर्थात् नगण्य मात्रामा मात्र खेती गर्ने गरेको पाइन्छ ।
कृषि ज्ञान केन्द्रका अनुसार नार्पाभूमि गाउँपालिकामा रैथाने बाली प्रायः लोप हुने अवस्थामा पुगेको छ । त्यसैगरी, ङिस्याङ गाउँपालिकाका सबै वडामा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ । दिनानुदिन वातावरणमा आएको परिवर्तनले रैथाने बाली हराउन थालेका स्थानीय बताउँछन । यसलाई सुहाउँदो वातावरणमा अभावले पनि खेतीबाली फेरिन थालेका कृषि ज्ञान केन्द्रका प्रमखु मदन रेग्मीले जानकारी दिए ।
उनले भने, “रैथानेबालीको उत्पादनमा ह्रास आउन थालेपछि विकासे (हाइब्रिड) खेतीपातीतर्फ कृषक लागेको पाइन्छ, तर रैथाने बालीको उत्पादकत्वको आधारमा किसान सचेत हुँदै आकर्षित भएका पाइन्छ ।” विगत ४ वर्षको तथ्याङ्क हेर्ने हो भने अन्य रैथाने बालीको तुलनामा स्थानीय आलुखेतीमा वृद्धि भएको पाइन्छ ।
विगतदेखि नै अन्य खेतीको तुलना आलुको बढी माग तथा खपत हुन थालेकाले व्यावसायिक खेती अर्थात् नगदे बालीका रुपमा विकास भएको पाइन्छ । तर, अन्य बाली लगाउन धेरै जनशक्ति लाग्ने र अभाव हुँदा समस्या भने हुने गरेको स्थानीय बताउँछन । कोभिड तथा बाढीपहिराको विपद्को वर्षबाहेक अन्य वर्षमा उत्पादकत्व वृद्धि भएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
मनाङको तल्लो भेगमा अन्य बाली जस्तै मकै, आलु, करु, गहुँ, जौ, फापर, कोदो बोडीलगायतका बाली लगाइन्छ । गोलभेँडा, काउली, फर्सी, प्याज, लसुन, साग, मूला, गाजरलगायतका तरकारी यहीँ खपत हुन्छ । जलवायु परिवर्तनले खेती फेर्नुपर्ने अवस्था देखिएको ज्ञान केन्द्रको अध्ययनले देखाउँछ । विगतमा नहुने खेती र यहाँको तापक्रम वृद्धिले असर पारेको खेतीबालीमा देखिएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा २८६ हेक्टर क्षेत्रफलमा गरिएको फापरखेतीबाट ५०४ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । करिब १११ हेक्टर क्षेत्रफलमा गरिएको जौखेतीबाट १७५ मेट्रिकटन उत्पादन भएको छ । ७४५ हेक्टर क्षेत्रफलमा १४ हजार ९७५ मेट्रिकटन स्थानीय प्रजातिको आलु उत्पादन भएको केन्द्र पमुख रेग्मीले बताए ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ७० हेक्टर क्षेत्रफलमा उवा/करुखेती गरिएको तथ्याङ्कमा उल्लेख छ । त्यसअघि यी खेतीको तथ्याङ्क अभिलेखीकरण गरिएको पाइँदैन । करिब ७० हेक्टर जमिनमा गरिएको उवा/करुखेतीबाट ११५ मेट्रिकटन उत्पादन भएको छ । यस आर्थिक वर्षमा फापरखेतीको क्षेत्रफल ७५ हेक्टर वृद्धि भएको छ । ३६१ हेक्टर क्षेत्रफलमा गरिएको फापर खेतीबाट ६१० मेट्रिकटन फापर उत्पादन भएको छ । जौखेतीको क्षेत्रफल घटेर ४० हेक्टर पुगेको छ ।
यस वर्ष आलुखेतीको क्षेत्रफल पनि घटेर ७३५ हेक्टरमा झरेको छ । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट आठ हजार १९० मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०७९/८० मा ७० हेक्टरमा उवा/करुखेती गरिएको छ । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट ११२ मेट्रिकटन उवा/करु उत्पादन भएको छ । ३०२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३२० मेट्रिकटन फापर उत्पादन भएको छ ।
त्यस्तै, ४० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ६५ मेट्रिकटन जौ उत्पादन भएको छ । ७३७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ९ हजार २१२ मेट्रिकटन आलु उत्पादन भएको केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा १०५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १९३ मेट्रिकटन उवा/करु उत्पादन भएको छ । करिब २१२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट २१६ मेट्रिकटन फापर उत्पादन भएको छ । करिब २० हेक्टर क्षेत्रफलमा गरिएको खेतीमार्फत ३७ मेट्रिकटन जौ उत्पादन भएको छ भने ६३२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट नौ हजार १३२ मेट्रिकटन आलु उत्पादन भएको छ ।
यस तथ्याङकका आधारमा रैथाने बाली खेतीतर्फ आकर्षण घट्दै गएको देखिन्छ । जलवायु परिवर्तनको असर जति बढ्दै गएको छ, उति नै खेतीयोग्य भूमि बाँझो बन्दै गएको पाइएको प्रमुख रेग्मीले बताउनुभयो । उनले भने, “रैथाने खेतीतर्फ कृषक आकर्षित छन्, उत्पादन यहीँ खपत हुन्छ, तर व्यवसाय परिवर्तनले प्रभाव पारेको छ ।”
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र श्रीमहल काठमाडौँका अनुसार कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले हाल उत्पादन बढी लिने उद्देश्यले गर्दा लोप हुने अवस्थामा पुगेको छ । संरक्षण केन्द्रका अनुसार फापर, कोदो, जौ, कागुनो, च्युनो, उवा, लट्टे, जुनेलो, मस्याम, गहत, खेसरी, भॉगे सिमी, सिलाम, झुसे तिल आदिलाई स्थानीय तथा रैथाने बालीमा सूचिकृत गरेको छ ।
समग्रमा भन्ने हो भने मनाङलगायत देशभरबाटै कतिपय रैथाने बाली लोप भइसकेका छन् भने कतिपय लोपोन्मुख र सङ्कटापन्न अवस्थामा रहेका छन् । त्यसैले तीनै तहका सरकारले (कृषि अनुसन्धान केन्द्र) ले रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा ध्यान दिँदै रैथाने बालीको वैज्ञानिक तथा आधुनिक प्रविधियुक्त प्रजातिको विकास गरी उन्नत बीउबिजनबाट उत्पादनलाई जोड दिएको छ ।










प्रतिक्रिया