फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक


गण्डकी । गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो ।

शनिबार साँझ ६ः०५ बजे १५६ यात्रुसहित पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइ दुबईको जहाजले पोखराबाट ८३ यात्रु लिएर दुबई फर्केको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

यसअघि गति बिहीबार दुबईबाट फ्लाइ दुबईमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए । पोखराबाट १४३ यात्रु उक्त जहाजबाट दुबई गएका थिए । शुक्रबार भने खराब मौसमका कारण पोखरा–दुबई उडान रद्द भएको थियो । बुधबार पहिलो उडानबाट ११३ यात्रु दुबईबाट पोखरा आएका थिए । फर्कँदा उक्त जहाजले पोखराबाट १५२ यात्रु लिएर गएको थियो ।

यस उडानलाई प्रभावकारी र दिगो बनाउन कस्सिएका पोखराका पर्यटन व्यवसायीलगायत सम्बद्ध पक्ष सुरुआतका दिनमा यात्रु सङ्ख्या देखेर उत्साहित छन् । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानको सुरुआती सङ्केत सकारात्मक र उत्साहजनक रहेको बताए ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  ०६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।