हिमालय ऊर्जा विकास कम्पनीको आईपिओ बाँडफाँड, ९६ प्रतिशतले पाए २० कित्ता

0
Shares

हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपिओ) मा ९६ प्रतिशत आवेदकले २० कित्ता शेयर हात पारेका छन् । वैशाख ३ गते मंगलबार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गरिएको उक्त कम्पनीको आईपिओमा ४ प्रतिशत आवेकदले भने १० कित्ता शेयर हात पारेका हुन् ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गका अनुसार आईपिओमा आवेदन गरेर सदर भएका कूल ६९ हजार ६७० जना आवेदकमध्ये ६६ हजार ९५० जनाले २० कित्ताका दरले शेयर प्राप्त गरे भने २ हजार ७२० जनालाई १० कित्ता हात पारे। कूल सदर आवेदकमध्ये ९६.०९६ प्रतिशतले २० कित्ता र ३.९०४ प्रतिशत आवेदकले १० कित्ता शेयर प्राप्त गरेका हुन् ।

आईपिओमा कूल ६९ हजार ७०८ वटा आवेदन परेकोमा ३८ आवेदकबाट परेको २ हजार ८०० कित्ताको माग आवेदन रद्ध भएको छ । रितपूर्वक आवेदन दिएर सदर भएका ६९ हजार ६७० जना आवेदकलाई शेयर बाँडफाँड गरिएको हो ।

आईपिओमा सदर भएको ६९ हजार ६७० वटा आवेदनबाट कूल ४८ लाख ९३ हजार ५० कित्ता शेयर माग भएको थियो । सदर भएको माग सर्वसाधारणमा निष्काशन भएको ३.५८ गुणा धेरै हो। सो आईपिओमा न्यूनतम ५० देखि अधिकतम ६ हजार ५०० कित्तासम्म आवेदन गर्ने व्यवस्था थियो।

कम्पनीले चैत २० देखि २५ गतेसम्म कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो मध्ये कर्मचारीहरुलाई ३ प्रतिशत अर्थात ४४ हजार ५५० कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता छुट्टाइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ।

विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेगावाट निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ। यसरी हेर्दा प्रति मेगावाट लागत करिब १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ।