हिमालयन र बिओकेको मेलम्चीमा फसेको पैसा फिर्ता आउन अझै समय लाग्ने


मेलम्ची खानेपानी अयोजनामा फसेको हिमालयन र बैंक अफ काठमाण्डूको डेढ अर्ब रुपैयाँ फिर्ता हुन अझै समय लाग्ने भएको छ । चाइना रेल्वे १५ ले जेन्जल उच्च अदालतको फैसला चित्त नबुझेको भन्दै  हेनान प्रदेशको उच्च अदालतमा फैसला विरुद्ध पुनरावेदनमा गएपछि ढिला हुने भएको हो ।

गत नोभेम्वर ६ तारिक जेन्जल उच्च अदालतले बैंक अफ काठमाण्डू र हिमालयन बैंकको पक्षमा फैसला गरेको थियो ।

जेन्जल उच्च अदालतको आदेश चित्त नबुझे चाइना रेल्वेसँग १५ दिनभित्र निवेदन दिनसक्ने विकल्प थियो । सो समयअवधि सकिने अन्तिम दिन शुक्रबार चाइना रेल्वेले हेनान प्रदेशको उच्च अदालतमा पुनरावेदन गरेको दुबै बैंकको तर्फबाट मुद्दा लडेका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले बताए ।

चाइना रेल्वेले उच्च अदालतमा मुद्दा नहालेको भए बीओके र हिमालयन बैंकले अदालतको आदेशअनुसार आगामी साताभित्र रकम फिर्ता पाउँथे । यी दुई बैंकले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे ग्रुप अफ कम्पनीका तर्फबाट काउन्टर ग्यारेन्टी बसेका थिए ।

तर, आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको चाइना रेल्वे सम्झौताको १५ प्रतिशत भुक्तानी लगेर कामै नगरी २०६९ भदौमा भागेको थियो । मूख्य ग्यारेन्टी बसेको चाइना कन्सट्रक्सन्स बैंकले रकम भुक्तानी नगरेपछि मेलम्ची आयोजनाले सहायक काउन्टर ग्यारेन्टी बसेका बीओके र हिमालयन बैंकसँग क्षतिपूर्तिको दाबी गरेको थियो । बैंक अफ काठमाण्डूको ८५ करोड र हिमालयन बैंकले ६६ करोड रुपैयाँ गरी १ अर्ब ५१ करोड बराबरको काउन्टर ग्यारेन्टी बसेका थिए ।

मेलम्ची परियोजनामा ८ वर्षअघिबाट फसेको उक्त रकमका लागि लड्दै आएका दुई बैंकले सो मुद्दामा चीनको जिल्ला अदालतले उक्त रकम नेपालका बैंकहरुलाई फिर्ता दिन आदेश दिएको थियो । सुरुमा जिल्ला अदालत बेजिङमा नेपालका दुई बैंकले सो मुद्दा हारेका थिए । सो पछि अधिवक्ता गान्धी पण्डितले हेनान उच्च जन अदालतमा सो मुद्दामा पुनरावेदन दिएका थिए ।

सो मुद्दा भने नेपालका दुई बैंकको पक्षमा फैसला भएको थियो । फेरि उच्च अदालतबाट जिल्ला आदालतमा फर्किएको सो मुद्दामा नेपालका बैंकको पक्षमा फैसला भएको थियो । सो फैसला पनि चित्त नबुझेको भन्दै शुक्रबार चाइना रेल्वे पुनः हेनान उच्च अदालमा अपिल गरेको पण्डितले बताए । बैंकहरुले पैसा पाउनका लागि अझै २ देखि ४ महिनासम्म लाग्ने पण्डिको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।