२० तस्बिरमा हेरौँ १५ असारको चटारो


काठमाडौँ । आज असार १५, राष्ट्रिय धान दिवस । देशभरका किसानलाई रोपाइँको चटारो छ ।

२०६१ साल मंसिर २९ गते मन्त्री स्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएकाले अधिकांश खेतीयाेग्य जमिनमा राेपाइँ हुने विश्वास लिइएकाे छ ।

यस दिनलाई दही चिउरा खाने पर्वका रूपमा पनि मनाउने गरिएको छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

केही तस्बिरमा हेरौँ धान दिवसको रौनकः

सुर्खेतको वीरेन्द्रनगरमा अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी सुर्खेतले आइतबार वीरेन्द्रनगर नगरपालिका–११ मा आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा किसानहरुसँग रोपाइँ गर्दै मुख्यमन्त्री कँडेललगायत ।
राष्ट्रिय धान दिवसका अवसरमा खजुरा–३ धौलागिरि गुल्मिटोलका ‘जनस्वास्थ्य आमा समूह’ का सदस्यहरूले आइतबार धौलागिरिमा मगर पोशाकमा सजिएर दिवस मनाइँदै ।
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आइतबार भरतपुर महानगरपालिका–२४ स्थित केरुङ्गा ताजा तरकारी तथा फलफुल सहकारी संस्था लिमिटेडको परिसरमा आयोजना गरिएको कार्यक्रममा हिलोमा डोरी तान्ने प्रतियोगितामा सहभागिता जनाउँदै सहभागीहरू ।
नारायणगढ (चितवन), १५ असारः भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा आइतबार भरतपुर महानगरपालिका–२४ स्थित केरुङ्गा ताजा तरकारी तथा फलफुल सहकारी संस्था लिमिटेडको परिसरमा आयोजना गरिएको कार्यक्रममा धान रोप्दै ।
२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आइतबार भरतपुर–२४ स्थित केरुङ्गा ताजा तरकारी तथा फलफुल सहकारी संस्था लिमिटेडको परिसरमा आयोजना गरिएको कार्यक्रममा हिले दौडमा सहभागीता जनाउँदै सहभागीहरु ।
२२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज खजुरा -३ धौलागिरि गुल्मिटोलका जनस्वास्थ्य आमा समूह धौलागिरिमा खेत रोपेर धान दिवस मनाउँदै ।
२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज रामेछापको मन्थली नगरपालिका वडा नं ८ स्थित जगखनीटारमा खेत रोपेर धान दिवस मनाउँदै । धान रोप्ने कार्यक्रम मन्थली नगरपालिकाले आयोजना गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने नाराका साथ कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क)द्वारा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आज आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा धान रोप्दै ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी आज कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क)द्वारा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा धान रोप्दै ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृसङ्गठन अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले आइतबार धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ को अवसरमा रोपाइँ कार्यक्रममा सहभागी हुँदै ।
कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा बेँसीसहर नगरपालिका-८ दनाई फाँटमा आइतबार बिहान आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ कार्यक्रममा सहभागीहरू धान रोप्दै ।
कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा बेँसीसहर नगरपालिका-८ दनाई फाँटमा आइतबार बिहान आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ कार्यक्रममा सहभागीहरू धान रोप्दै ।
राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना योग साधना केन्द्रले आज काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित खेतमा धान रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाउँदै ।
राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना योग साधना केन्द्रले आज काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित खेतमा धान रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाउँदै ।
राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना योग साधना केन्द्रले आज काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित खेतमा धान रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाउँदै ।
नेपाली काँग्रेस राष्ट्रियसभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला नेपाल किसान महासङ्घ झापाद्वारा हल्दीबारीमा आयोजित धान महोत्सवमा हल हिल्याउँदै।
दाङको लमही नगरपालिका वडा नं ४ सेमरहवामा खेत रोप्न धानको बीउ काढ्दै किसान ।
कृषि ज्ञान केन्द्र बैतडीले गोकुलेश्वरमा आयोजना गरेको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागीहरू।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।