आइएमई जनरल इन्स्योरेन्सको नाफा २९ प्रतिशतले बढ्यो

0
Shares

आइएमई जनरल इन्स्योरेन्स (IGI) ले ३ करोड ५४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २ करोड ७४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले २९.१७ प्रतिशतले नाफा बढाएको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क घटेको छ । खुद बीमाशुल्क आर्जन घटेको भएपनि खुद नाफा भने बढेको हो ।

असोज मसान्तसम्ममा कम्पनीले १५ करोड ८० लाख ३३ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १६ करोड ५१ लाख २ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३.११ रुपैयाँ कायम भएको छ । गत आवको तुलनामा २.३५ रुपैयाँले इपिएस बढेको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ १५५.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.६६ गुणा छ ।

असोज मसान्तसम्म कम्पनीको जगेडा कोषमा २२ करोड ७८ लाख रुपैयाँ, बीमा कोषमा ३७ करोड ४४ लाख रुपैयाँ सञ्चित छ । यसअवधिमा कम्पनीको बीमा कोषको आकार ४३.८७ प्रतिशत र जगेडा कोषको आकार २७.९१ प्रतिशतले बढोत्तरी भएको हो ।

आइएमई जनरलले पुनर्बीमा कमिशन वापत ४ करोड ४९ लाख, लगानी कर्जा तथा अन्यबाट ८२ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ ।
असोज मसान्तसम्म यस कम्पनीले यस अवधिमा ३४ हजार ८५६ वटा बीमालेख जारी गरेकोमा ४ हजार ५११ वटा बीमालेख नवीकरण भएका छन् ।

असोज मसान्तसम्ममा ३४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा ७२६ कुल दाबी बापत १० करोड ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार २४६ वटा दाबी बापत ५९ करोड ७४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार  १७ : ०५ बजे