सामाजिक सुरक्षा कोषको दाबी भुक्तानी १५ अर्ब नाघ्यो


काठमाडौँ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई १५ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार १५ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा १५ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १ लाख ७ हजार १७६ योगदानकर्तालाई २ अर्ब ५ करोड २७ लाख ७० हजार ३४९ योगदानकर्तालाई दुर्घटना र अशक्तता सुरक्षा योजना बापत १९ करोड ९२ लाख १८ हजार ८७५ रुपैयाँ दाबी भुक्तानी दिएको हो ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २७ हजार ४५९ जना योगदानकर्ताका परिवारलाई २५ करोड १५ लाख ५४ हजार १६६ र वृद्ध अवस्था सुरक्षा योजनाबापत १ लाख १९ हजार ३४६ योगदानकर्तालाई १२ अर्ब ८८ करोड ४५ लाख ५९ हजार ७६० रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ ।

कति भए कोषमा आबद्ध ?

सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ ।

कोषका अनुसार हालसम्म सबैभन्दा बढी वैदेशिक रोजगारबाट १७ लाख ३९ हजार ३९ जना आवद्ध भएका छन । यस्तै औपचारिक क्षेत्रबाट ५ लाख ९८ हजार ८६२ जना, अनौपचारिक क्षेत्रबाट ६१६ जना र स्वरोजगार क्षेत्रबाट ४०१ जना गरी जम्मा २३ लाख ३८ हजार ९१८ जना आवद्ध भएका छन ।

यस्तै प्रदेशगत आधारमा कोशी प्रदेशबाट रोजगारदाता मार्फत २ हजार २३२ जना र योगदानकर्ता मार्फत ६३ हजार ७४७ जना आवद्ध भएका छन । मधेश प्रदेशबाट १ हजार ११७ रोजगारदाता मार्फत र २९ हजार ५७३ जना योगदानकर्ता मार्फत, बागमती प्रदेशबाट रोजगारदाता १४ हजार ११२ र ४ लाख ५३ हजार ३७९ जना योगदानकर्ता आवद्ध हुँदा गण्डकी प्रदेशबाट १ हजार ६७ रोजगारदाता २५ हजार ३३६ जना योगदानकर्ता आवद्ध भएका छन ।

यसैगरि लुम्बिनी प्रदेशबाट १ हजार ७२२ रोजगारदाता मार्फत २१ हजार ४३८ जना योगदानकर्ता, कर्णाली प्रदेशबाट २८० जना रोजगारदाता र २ हजार ३४४ जना योगदानकर्ता आवद्ध हुँदा सुदुर पश्चिम प्रदेशबाट ३०७ जना रोजगारदाता र ३ हजार ४५ जना योगदानकर्ता कोषमा आवद्ध भएका छन ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार  १० : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।