काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सहायतालाई ‘च्यारिटी’ का रूपमा मात्र नलिई गरिबीको अन्त्य र नागरिकको क्षमता अभिवृद्धिका लागि उपयोग गर्न विश्व समुदायसमक्ष अपिल गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो सान्चेजद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय विकास सहयोगलाई पुनर्जीवित गर्दै’ शीर्षकमा आयोजित उच्चस्तरीय ‘राउन्ड टेबल’ छलफलमा मङ्गलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा कोही पनि पछाडि नपरून् भन्ने सोचका साथ विकास सहायतालाई दिगो शान्ति र विकासका लक्ष्य हासिलनिम्ति उपयोग गर्न साझा पहलका लागि अपिल गरेका हुन् ।
उनले विकास सहायता र विश्व साझेदारीको ऐक्यबद्धतामा नयाँ अवधारणाका बारेमा नेपालको धारणा व्यक्त गर्दै भने, “उस्तै किसिमका साना साना विकास परियोजनाहरू सरकार र गैरसरकारी क्षेत्रबाट समानान्तर रूपमा सञ्चालन गर्ने प्रवृत्ति पनि देखिएको छ । त्यसरी छरिएको सहायताबाट समतामूलक विकासले गति लिँदैन ।”
प्रधानमन्त्री ओलीले विकास साझेदारहरू निश्चित सञ्जालमार्फत सहायताका लागि अग्रसर हुनुपर्नेमा जोड दिँदै यस विषयलाई सेभिया–प्रतिबद्धताले उत्प्रेरित गरेकाले त्यही मार्गबाट अघि बढ्नुपर्ने सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विकसित मुलुकहरूले बोलीमा नभई व्यवहारमा आफ्ना सहायताका प्रतिबद्धता पूरा गर्नुपर्नेतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले वास्तवमै जनताको जीवनमा अर्थपूर्ण परिवर्तनका लागि प्रभाव पर्ने क्षेत्रमा सहकार्य हुनुपर्ने धारणा राखे ।
उनले नेपाल जस्तो अति कम विकसित मुलुकहरूले विभिन्न खालका गतिरोधको सामना गरिरहेको औँल्याउँदै प्रविधि, वैदेशिक ऋण र वित्तीय अभाव झेल्नु परेको उल्लेख गरे ।










प्रतिक्रिया