नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य ‘करेक्सन’ आएको छ । तिहारपछि निरन्तर उच्च अंकले बढेको बजारमा अल्पकालिन लगानीकर्ताले ‘प्रोफिट बुक’ गर्दा बजार सूचक घटेको हो ।
गत साताको बुधबार, बिहीबार र यो साताको आइतबार उच्च अंकले बढेको नेप्से सूचक सोमबार समान्य अंकले घटेको छ । तीन दिनसम्मको निरन्तर उच्च अंकको सुधारमा अल्पकालिन लगानीकर्ताले थोरै भएपनि नाफा सुनिश्चित गर्न खोज्दा सोमबार नेप्से सूचक घटेको एक विश्लेषकले बताए ।
“बजारमा अल्पकालका लागि आएका लगानीकर्ताले छिटो नाफा लिन खोज्दा बजार सूचक घटेको हो,” ति विश्लेषकले भने,“बजारमा आएको अस्थायी पूँजीले जोखिम झनै बढाउन सक्ने भएकाले साधारण लगानीकर्ता होसियार हुनुपर्ने देखिन्छ ।” आर्थिक गतिविधि चलायमान हुन नसकेपछि विभिन्न क्षेत्रको पैसा शेयर बजारमा आएको हुनाले पछिल्लो समयमा बारमा आएको लगानी अल्पकालीन रहेको उनले बताए ।
सोमबार शेयर बजार सूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ ।
नेप्से सूचक करिब साढे २ अंकले घट्दा कारोबार रकम ४ अर्ब ७६ करोड २७ लाख रुपैयाँमा झरेको छ ।
आइतबार नेप्से सूचक ४.६९ अंकले बढेको थियो भने कारोबार रकम ६ अर्ब ९० करोड ६७ लाख २८ हजार रुपैयाँ पुगेको थियो । यो कारोबार रकम हालसम्म कै उच्च हो ।
कोरोना भाइरसका कारण आर्थतन्त्रका सूचकहरु नकरात्मक रहेको अवस्थामा समेत शेयर बजारमा निरन्तर सुधार जोखिम पुर्ण रहेको थियो ।
विश्व अर्थतन्त्र नै नकरात्मक अवस्थामा रहेको भएपनि शेयर बजारहरु भने उल्टो दिशामा अघि बढीरहेको अवस्था छ । पछिल्ला दिनहरुमा भारतीय, अमेरिकी शेयर बजारहरु पनि नयाँ उचाइमा छन् । नेपाली शेयर बजार पनि सोही दिशामा देखिएको छ । पछिल्ला दिनहरुमा नेप्सेमा नयाँ–नयाँ कीर्तिमानहरु पनि बनेका छन् ।
बैंकिङ प्रणालीको ब्याजदर घट्नु तथा बैंकहरुले सहज र सस्तो दरमा कर्जा दिनुले पनि शेयर बजार सकारात्मक हुनमा मद्दत गरेको हो । त्यति मात्र नभै बैंकहरु आफैँले पनि शेयर बजारमा लगानी बढाएको अवस्थामा छ । पछिल्ला दिनहरुमा शेयर बजारमा नयाँ लगानीकर्ताको प्रबेशसंगै संस्थागत लगानीकर्ताको उपस्थिती पनि बाक्लो हुन थालेको छ ।
शेयर बजारमा पछिल्ला दिनहरुमा आएको एकपछि आर्को कीर्तिमान संगैको सुधार सकारात्मक रहेको लगानीकर्ता विष्णु भण्डारीले बताए । तर, सबै क्षेत्र नकरात्मक भएको अवस्थामा शेयर बजारमा आशा जाग्नु लगानीकर्ताको मनोवल थप उच्च भएको उनको भनाइ छ । अहिले शेयर बजारमा अन्य क्षेत्रका ब्यवसायी तथा व्यपारी पनि प्रशेक गरेको हुनाले उनीहरु दिर्घकालीन रुपमा बजारमा नरहने भएकाले होसियार हुनुपर्ने उनको तर्क छ।
सोमबार नेप्सेमा कारोबार सुरु हुँदा सकारात्मक रहेको बजार सूचक केही समयमा नै नकारात्मक भएको थियो । केही समयमा नै घट्न थालेको नेप्से बन्द हुदाँ सम्म २.३८ अंकले घटेर १७८०.४३ अंकमा झरेको छ । नेप्से संगै सेन्सेटीभ इण्डेक्स पनि समान्य अंकले घटेको छ।
सोमबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको शेयरमूल्य घटेको छ । नेप्सेमा कारोबार भएका समूहगत सूचक मध्ये बैंकिङ ६.०५, ब्यपार २९..१७, होटल ७६.६९ र उत्पादन मूलक १३३.९८ अंकले बढेको भएपनि त्यसको सकरात्मक प्रभाव समग्र बजार सूचकमा पर्न सकेन । तर, विकास बैंक १.८१, जलविद्युत १.७५, वित्त १.७६, निर्जीवन बीमा १२५.९७, अन्य १६.०७, लघुवित्त २०.९१, जीवन बीमा १८२.४ र सामुहिक लगानी कोष ०.१७ अंकले घटेका छन् ।
सोमबार नेप्सेमा १९९ कम्पनीको ४६ हजार २४० कारोबारबाट ४ अर्ब ७६ करोड २७ लाख रुपैयाँ बराबरको एक करोड २० लाख २१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया