शेयर बजार परिसूचक मापक नेप्से ऐतिहासिक उचाइ नजिक पुगेको छ । बुधबार नेप्से सूचक ६४.७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ बिन्दुमा पुगेको हो । यसअघि २०७३ साल साउन १२ गते बुधबार नेप्से सूचकले पछिल्लो उच्च बिन्दु कायम गरेको दिन सूचक १ हजार ८८१ दशमलव ४५ बिन्दुमा रहेको थियो । सो बिन्दुभन्दा बुधबार ७ अंक मात्र कम रहेको छ ।
आज १९६ कम्पनीका १ करोड ४७ लाख ८९ हजार ३०३ कित्ता शेयर ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४८८ रुपैयाँको शेयर खरीद बिक्री भएको हो । यस्तै बजार पूँजीकरण पनि २५ खर्ब १३ अर्ब १५ करोड ८२ हजार कायम हुँदा धितोपत्रको बजार हालसम्मकै ठूलो बनेको छ ।
२०७३ साल साउन १२ गते २ अर्ब २६ करोडको शेयर कारोबार हुँदा बजार पूँजीकरण २० खर्ब ७० अर्ब रहेको थियो । उक्त दिनको तुलनामा आज कारोबार रकम २ अर्ब ८७ करोडले बढेको छ बजार पूँजीकरण पनि ऐसितहासिक उचाइमा पुगेको छ ।
आज कारोबारमा आएका १७० कम्पनीका शेयरमूल्य बढेको छ भने १७ कम्पनीको मात्र घटेको छ । होटल बाहेक सबै उपसमूहको परिसूचकमा हरियाली छाएको बजारमा ब्यापार, उत्पादन र अन्यको सूचक ६ प्रतिशत धेरैले बढेको छ ।
कारोबारमा आएका ११ कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको बजारमा हिमालयन पावर पार्टनर सहितका कम्पनीको शेयरमूल्य सामान्य घटेको छ । आजको बजारमा नेको इन्स्योरेन्सको संस्थापक शेयर सबैभन्दा धेरै रकमको (४२ करोड २९ लाखको कारोबार हुँदा पुनर्बीमा कम्पनी, नबिल बैंक, नेपाल टेलिकम, र नेपाल बैंकको उच्च कारोबार भएको छ ।
शेयर संख्याका आधारमा भने मंसिर ७ गते सबैभन्दा धेरै १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर कारोबार हुँदै रेकर्ड कायम छ । यसअघि मंसिर ४ गते बिहीबार १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर कारोबार भएका थियो भने आज मंसिर ४ गतेभन्दा धेरै १ करोड ४७ लाख ८९ हजार ३०३ कित्ता शेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा पनि मंसिर ७ गते आइतबार ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ रुपैयाँमा रेकर्ड छ । सोभन्दा अघि मंसिर ४ गते बिहीबार ६ अर्ब ११ करोडको कारोबार भएको थियो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया