धितोपत्रको दोस्रो बजार हालसम्मकै ठूलो हुँदै गर्दा शेयर बजारमा पुराना कम्पनीहरुलाई उछिन्दै नयाँ कम्पनी नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) बजार पूँजीकरणमा नेपाल टेलिकमपछि दोस्रो ठूलो कम्पनी बनेको छ।
शेयर बजारमा चुक्ता पूँजी र शेयरमूल्य उच्च रहँदै गर्दा नेपाल टेलिकमले धेरैजसो समय आफुलाई पहिलो स्थानमा राख्दै गर्दा दोस्रो देखि दशौं स्थानमा भने हरेक साता ठूला कम्पनीहरुमा आउने उतार चढावका कारण परिवर्तन हुँदै आइरहेको छ ।
यसै क्रममा नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा दोस्रो स्थानमा पुगेको छ । यस कम्पनीको साताको कारोबारका आधारमा बजार पूँजीकरण १ खर्ब ३३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । जुन पहिलो स्थानमा रहेको नेपाल टेलिकमभन्दा २९ अर्ब ४५ करोड रुपैयाँ कम हो । टेलिकमको बजार पूँजीकरण १ खर्ब ६३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
पुनर्बीमा कम्पनीको कारोबार सुरु हुँदा २०७७ असार १५ गते ३८ अर्ब २० करोड बजार पूँजीकरण रहेको थियो । उक्त दिन कम्पनीको शेयर ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । शेयर कारोबारमा आएको पाँच महिना अवधिमा कम्पनीको बजार पूँजीकरण (२५०.५२ प्रतिशत) ९५ अर्ब ७० करोड रुपैयाँले बढेर १ खर्ब ३३ अर्ब ९६ करोड रुपैयाँ पुगेको हो ।
कारोबारको दुई साताभित्रै (२०७७ साउन २ गते) कम्पनी बजार पूँजीकरणको आधारमा दशौं ठूलो कम्पनी बनेको थियो । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको थियो ।
यसैगरी नबिल बैंकको पनि बजार पूँजीकरण १ खर्ब माथि पुगेको छ । बैंकको कुल बजार पूँजीकरण १ खर्ब १३ अर्ब ९६ करोड रुपैयाँ छ । यस साता टेलिकम, पुनर्बीमा र नबिल बैंक गरी तीन वटा कम्पनीको बजार पूँजीकरण १ खर्ब माथि रहेको छ । बैंकिङ्ग इन्डेक्समा वृद्धिसँगै बैंकको शेयरमूल्य बढेपछि नबिल बैंकको बजार पूँजीकरण १ खर्ब माथि पुगेको हो । बैंकको पछिल्लो साता मात्रै २२ अर्ब ६९ करोड २१ लाख रुपैयाँले बजार पूँजीकरण बढेको हो ।
यसअघि नबिल बैंकले धेरैजसो समय बजार पूँजीकरणको आधारमा दोस्रो स्थानमा रहँदै आइरहेकोमा कार्तिक अन्तिम सातापछि नबिल बैंकलाई उछिन्दै नेपाल पुनर्बीमा दोस्रो ठूलो कम्पनी बनेको हो। पछिल्लो एक सातामै पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २२९ रुपैयाँले शेयरमूल्य बढदा कम्पनीको बजार पूँजीकरण २२ अर्ब ९० करोड रुपैयाँले बढेको छ ।
नेप्सेका अनुसार शेयर बजार पूँजीकरणका आधारमा नेपाल लाइफ चौथो स्थानमा रहेको छ । कम्पनीको बजार पूँजीकरण यस साता ३८ करोड ४७ लाख रुपैयाँले घटेर ९१ अर्ब ५१ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ ।
यस्तै ७७ अर्ब ७७ करोड ११ लाख बजार पूँजीकरण सहित नागरिक लगानी कोष पाँचौं स्थानमा रहेको छ । कम्पनीको शेयरमूल्य एक सातामा २१५ रुपैयाँले घट्दा ३ अर्ब ५२ करोड ७६ लाख रुपैयाँ घटेको हो । गत साता ८१ अर्ब २९ करोड ८७ लाख रहेको थियो ।
एनआइसी एशिया बैंक ७२ अर्ब १५ करोड ३९ लाख, एनएमबी बैंक ६४ अर्ब १४ करोड ८० लाख रुपैयाँ सहित क्रमशः छैटौं र र सातौं स्थानमा रहेका छन् । यस साता एनआईसी एशियाको ७ अर्ब ५ करोड ११ लाख र एनएमबि बैंकको २ अर्ब २ करोड २६ लाख रुपैयाँले बढेको हो ।
यस्तै, बजार पूँजीकरणका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक आठौं, ग्लोबल आईएमई बैंक नवौं र एभरेष्ट बैंक दशौं स्थानमा रहेको छ । इन्भेष्टमेन्ट बैंकको बजार पूँजीकरण ६२ अर्ब ६९ करोड ५४ लाख, ग्लोबल आईएमई बैंकको ६० अर्ब ३४ करोड ३३ लाख, र दशौं स्थानमा रहेको एभरेष्ट बैंकको ५९ अर्ब २० करोड ६७ लाख रुपैयाँ छ ।
नेप्सेले पछिल्लो सातामा मात्रै नेपाल इन्भेष्टमेन्ट बैंकको २ अर्ब ९९ करोड २२ लाख, ग्लोबल आईएमई बैंकको ३ अर्ब ४१ करोड ५६ लाख र एभरेष्ट बैंकको बजार पूँजीकरण ३ अर्ब ७२ करोड २ लाख रुपैयाँले वृद्धि भएको जनाएको छ ।
नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २५ खर्ब ३७ अर्ब ४४ करोड २२ लाख रुपैयाँ रहेको छ । यो नेपाली शेयर बजारको इतिहासमा अहिलेसम्मकै उच्च बजार पूँजीकरण हो । गत साता २३ खर्ब ८२ अर्ब ७० करोड ९३ लाख रुपैयाँ बजार पूँजीकरण रहेकोमा एक सातामा १ खर्ब ५४ अर्ब ७३ करोड रुपैयाँले बढेको छ ।
यस साता शीर्ष बजार पूँजीकरण हुने दश कम्पनीको बजार पूँजीकरण ८ खर्ब ९९ अर्ब ४ करोड ९८ लाख रुपैयाँ रहेको छ । यो रकम कुल बजार पूँजीकरण (२५ खर्ब ३७ अर्ब ४४ करोड २२ लाख रुपैयाँ) को ३५.४३ प्रतिशत हो ।
गत साता दशौं ठूलो बजार पूँजीकरण रहेको हिमालयन बैंक भने शीर्ष दश कम्पनीबाट बाहिरिएको छ । यद्यपी बैंकको बजार पूँजीकरण भने गत साता ५६ अर्ब ४ करोड ६२ लाख रहेकोमा १ अर्ब ९६ करोड ८२ लाखले बढेर ५८ अर्ब १ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया