काठमाडौँ । गत आर्थिक वर्षमा नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार यस अवधिमा सुनको मूल्य प्रतितोला ४२ हजार ७०० रुपैयाँले महँगिएको हो । जुन लगभग २८ प्रतिशतकाे वृद्धि हो ।
गत आर्थिक वर्ष (२०८१/८२) साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन चालु आवको साउन २ गते १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ३३४.९५ अमेरिकी डलर पुगेको छ । गत वर्ष २ हजार ४०९.५३ अमेरिकी डलर थियो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनकाे भाउ निरन्तर बढेकाले त्यसकाे प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीति र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमले अन्य लगानीका क्षेत्रहरु सुरक्षित नहुँदा लगानीकर्ताहरु सुनमा आकर्षीत भएका छन् । सुनलाई लगानीको सुरक्षित विकल्प मानिने भएकाले माग बढ्दा मूल्य आकासिएको व्यवसायीहरुको भनाई छ ।
गत आवमा कुन महिना कतिमा भयो कारोबार ?
महासंघका अनुसार २०८१ साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य भदौमा बढेर १ लाख ५२ हजार ६०० पुगेको थियो । असोजमा १ लाख ५६ हजार ४००, कात्तिकमा १ लाख ६४ हजार र मंसिरमा १ लाख ६० हजार पुगेको थियो ।
मंसिर ९ गते सरकारले सुन आयातमा लाग्दै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्दा सुनको मूल्य घटेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । पुसमा प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन माघमा बढेर १ लाख ५५ हजार ४०० र फागुनमा १ लाख ७० हजार २ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चैतमा १ लाख ७४ हजार ५००, बैशाखमा १ लाख ८४ हजार ३००, जेठमा १ लाख ८४ हजार ८०० र असारमा बढेर १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको थियो । निरन्तर सुनको मूल्य बढ्दा त्यसको असर व्यवसायी, उपभोक्ता र अर्थतन्त्रलाई परेको छ ।










प्रतिक्रिया