माउन्टेन इनर्जी नेपाल लिमिटेडको प्राथमिक निष्काशन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सो जानकारी अनुसार माउन्टेन इनर्जी नेपाल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे आईपीओ बाँडफाँड गरिएको हो ।
नबिल इन्भेष्टमेन्टका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार यस आईपीओमा १ लाख ८३ हजार २६ जनाले (जुन कूल आवेदकको २८ प्रतिशत हो) शेयर पाएका छन् ।
आईपीओ आवेदन दिएका कुल ६ लाख ५१ हजार ५७५ जनामध्ये १ लाख ८३ हजार २६ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो । बाँकी ५ कित्ता शेयर आईपीओ पाएका १ लाख ८३ हजार २६ जनामध्ये ५ जनालाई थप १।१ कित्ता गरी कुल ११ कित्ताका दरले बाँडफाँड गरिएको छ ।
यसअनुसार १ लाख ८३ हजार २१ जना आवेदकले गोलाप्रथाबाट १० कित्ता र ५ जनाले ११ कित्ता शेयर पाएका हुन् । बाँकी ४ लाख ६८ हजार ५४९ जना (७२ प्रतिशत आवेदक) को हात खाली भएको छ । आईपीओामा कुल ६ लाख ५३ हजार २९१ जना आवेदकले आवेदन दिएकामध्ये १ हजार ७१६ वटा आवेदन रद्ध भएका थिए ।
कम्पनीले माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओमा ७.६१ गुणा धेरै आवेदन परेको छ । कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले दोस्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात (१९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्रीमा ल्याएको हो। जसमध्ये सामूहिक लगानी कोषहरुका लागि ९८ हजार ४०१ कित्ता र ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो ।
जारी पूँजीको २० प्रतिशत (३९ करोड ३६ लाख ५ हजार ४० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता० आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीले यसअघि नै पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत शेयर आयोजनाबाट प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयहरुलाई जारी गरेको थियो।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटलले शेयर निष्काशन तथा बिक्री प्रबन्धक भएर शेयर जारी गरेका हुन् ।
कम्पनीले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको विवरणपत्रमा अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रतिशेयर आम्दानी ३६.८० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६५.२८ रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीको छ । आयोजनामा चन्दप्रसाद ढकाल, मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायतको प्रमुख लगानी छ ।
कम्पनीले कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया