काठमाडौँ । गत आर्थिक वर्ष २०८१\८२ मा नेपालले ३५ अर्ब रुपैयाँ भन्दा बढीको स्मार्टफोन आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार उक्त अवधिमा विभिन्न देशहरुबाट ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको हो ।
गत आर्थिक वर्षमा कुल २१ लाख ८४ हजार ६९४ वटा स्मार्टफोन आयात हुँदा सरकारले ६ अर्ब ६२ करोड ७१ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०८०\८१ को तुलनामा गत वर्ष स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आव २०८०\८१ मा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँको १८ लाख ३९ हजार ०३५ वटा स्मार्टफोन नेपाल भित्रिएका थिए ।
यसरी हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात लगभग ६ अर्ब ८८ करोड रुपैयाँले बढेको छ ।
कुन कुन देशबाट कति आयात
गत आवमा नेपालमा चीन, भारत, अमेरिका, यूएई, अष्ट्रेलिया, जापान, कतार, कोरिया, यूके, हङकङ, लगायत ६६ वटा मुलुकबाट स्मार्टफोन आयात भएको छ ।
तथ्यांक अनुसार सबैभन्दा बढी स्मार्टफोन चिनबाट भित्रिएको छ । सो अवधिमा चिनबाट मात्र २४ अर्ब ९१ करोड ४३ लाख ८७ हजार रुपैयाँ बराबरको १७ लाख ५१ हजार ८२३ वटा स्मार्टफोन नेपाल भित्रिएको छ । जुन कुल आयातको ७० प्रतिशत हुन आउँछ ।
भारतबाट पनि नेपालमा स्मार्टफोन उल्लेख्य मात्रामा आयात भएको छ । गत वर्ष भारतबाट १० अर्ब ३ करोड २२ लाख ५५ हजार रुपैयाँमा ४ लाख २४ हजार ८४४ वटा स्मार्टफोन आयात भएको हो ।
त्यसैगरी अमेरिकाबाट १ हजार २५९ वटा स्मार्टफोन आयात हुँदा १४ करोड २६ लाख २८ हजार रुपैयाँ बाहिरीएको छ । यूएईबाट १ हजार १४१ वटा फोन १२ करोड ९ हजार रुपैयाँमा आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै, अष्टेलियाबाट ८ करोड १७ लाख ५० हजार रुपैयाँको ६३५ वटा स्मार्टफोन आयात भएको छ । जापानबाट पनि १ हजार ७ वटा स्मार्टफोन आयात हुँदा ८ करोड १४ लाख ३५ हजार रुपैयाँ बाहिरीएको छ ।
कतारबाट ५ करोड २१ लाख ९२ हजार रुपैयाँको ४०८ वटा स्मार्टफोन आयात भएको छ भने कोरियाबाट ३ करोड ९५ लाख ५१ हजार रुपैयाँमा ५८० वटा स्मार्टफोन नेपाल भित्रिएको छ ।
यूकेबाट २ करोड १२ लाख २२ हजार रुपैयाँको २१० वटा र हङकङबाट १ करोड २८ लाख ४३ हजार रुपैयाँमा १३६ वटा स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ ।












प्रतिक्रिया