काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा कुल २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु तथा सामान नेपालले अन्य मुलुकमा बिक्री गरेको छ । यस्तो निर्यात अघिल्लो वर्षहरुको तुलनामा ऐतिहासिक रुपमा बढेको छ । निर्यातमा यसरी सुधार देखिनुको मुख्य कारण सोयाबिन तेलको निर्यात रहेको भन्सार विभागले जनाएको छ ।
बाहिरबाट कच्चा सोयाबिन तेल ल्याएर नेपालमा प्रशोधन गरी निर्यात गर्दा समग्र निर्यातमा राम्रो सुधार देखिएको हो । गत आर्थिक वर्ष नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा सोयाबिन तेल नै परेको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष १ खर्ब ६ अर्ब ७९ करोड १२ लाख ३९ हजार रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ को तुलनामा यो वर्ष १ खर्ब ५ अर्ब बढी निर्यात भएको हो । अघिल्लो आवमा ९० करोड २५ लाख १ हजार रुपैयाँको मात्र सोयाबिन तेल निर्यात भएको थियो ।
सोयाबिनको तेलसँगै सूर्यमुखी तेलको निर्यात पनि बढेको छ । गत आर्थिक वर्ष १२ अर्ब ३२ करोड ६५ लाख ४४ हजार रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ । अघिल्लो आवको तुलनामा गत वर्ष सूर्यमुखी तेल १२ अर्ब १६ करोड रुपैयाँ बढी निर्यात भएको हो । अघिल्लो आवमा सूर्यमुखी तेल १६ करोड ३५ लाख ७५ हजार रुपैयाँको मात्र निर्यात भएको थियो ।
तेलपछि गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने वस्तुहरूको सूचीमा कार्पेट, अलैँची, फाइबरबाट बनेका कपडा, अन्य धागोहरु लगायतका सामानहरु हुन् । गत वर्ष १० अर्ब ७७ करोड ६८ लाख ५६ हजार रुपैयाँको कार्पेट निर्यात गर्दा ७ अर्ब ६८ करोड ३७ लाख ६ हजार रुपैयाँको अलैँची निर्यात भएको छ ।
त्यस्तै, फाइबारबाट बनेका कपडा ५ अर्ब ६९ करोड १ लाख २० हजार रुपैयाँको निर्यात हुँदा अन्य धागोहरु ५ अर्ब ६५ करोड ९६ लाख ७६ हजार रुपैयाँको निर्यात भएको हो ।












प्रतिक्रिया