बीमा कम्पनीले कोरोना बीमा दाबीको भुक्तानी ३ दिनमा गर्नुपर्ने


अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्रानी तीन दिन भित्र गर्ने व्यवस्था बनाउन बीमा समितिलाइ निर्देशन दिएको छ । मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिन भित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन भनेको हो ।

मन्त्रालयको निर्देश्न अनुसार प्रमाणीकरण गर्न बाँकी दाबीको प्रमाणीकरण पनि यथाशीघ्र गरी भुक्तानी दिने व्यवस्था मिलाउन पर्नेछ । कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा देखिएका समस्याबारे जानकारी दिन समेत समितिलाई निर्देशन दिएइको छ ।

हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण पेन्डिङमा छ, सोको विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के कति प्रयास भइरहेको छ, मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन् ? यसको विस्तृत विवरण मन्त्रालयमा पठाउन समेत निर्देशन दिएको छ ।

त्यस्तै कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले गत असोज १८ मै यस्तो दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।