नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्दै

बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त


काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई दिएको छ।

१०० रुपैयाँ अंकित मूल्यमा जारी हुने सेयरको कुल मूल्य ३० करोड रुपैयाँ रहनेछ। यस सम्बन्धमा २ पक्षबीच सम्झौता सम्पन्न भइसकेको छ। सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डका अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका हुन्।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेड नेपालको अग्रणी स्थायी पूँजी लगानी संस्था हो। यसलाई ग्लोबल इक्विटी फण्ड ले व्यवस्थापन गर्दै आएको छ, जुन नेपालमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त पहिलो प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फण्ड प्रबन्धक हो।

फण्डले स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी साधन, जलविद्युत्, सूचना प्रविधि, कृषि र आतिथ्य सेवाजस्ता पूर्वाधार क्षेत्रहरूमा पूँजी परिचालन गरिसकेको छ। यस फण्डमा हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स लगायत देशका प्रमुख इन्स्योरेन्स कम्पनीहरू प्रवद्र्धकका रूपमा रहेका छन्। साथै, व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरी पनि यस फण्डका प्रवद्र्धक हुन्।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार  ११ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।