बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : मल्ल


काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरीहार्य रहेको बताएका छन् । बीमा क्षेत्रमा नीतिगत सुधारसंगै प्रविधीयुक्त बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए। उनले भने, “अबको बीमा प्रविधिसँग जोडिनुपर्छ, यसले पारदर्शिता र सेवा प्रभावकारिता दुवैमा सुधार ल्याउँछ ।

नेपालको बीमा क्षेत्र दिनप्रतिदिन सुदृढ बन्दै गएको र आगामी दिनमा यो क्षेत्रलाई पुर्ण प्रविधिमैत्री बनाउन सकिए वित्तीय पारदर्शिता समेत कायम गर्न सकिने अध्यक्ष मल्लले बताए।

प्रभु इन्स्योरेन्सका अध्यक्ष समेत रहेका अध्यक्ष मल्लले कम्पनीका तर्फबाट आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस घोषणा गर्न सकिएको गर्व गर्दै भने, “यो उपलब्धि कम्पनीको सेवा, पारदर्शिता र प्रतिबद्धताको प्रतिफल हो । हामी बीमितहरुप्रति अझ जिम्मेवार हुँदै आगामी दिनमा द्रुत र समयमै दावी भुक्तानी गर्ने कुरामा प्रतिबद्ध छौं ।”

“बीमा गरौं ढुक्क बनौं” भन्ने नारालाई व्यवहारमा उतार्नका लागि प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको अध्यक्ष मल्लले बताए। उनले भने, “बीमा भनेको पीडा, विपद् र जोखिमका समयमा सेवा गर्ने क्षेत्र हो । हामीले जनतालाई यो विश्वास दिलाउनु समेत जरुरी छ ।” अध्यक्ष मल्लले बीमा क्षेत्रलाई मजबुत बनाउन निजी तथा सरकारी क्षेत्र दुई सिक्काका २ पाटा जस्तै सँगै अघि बढ्नुपर्ने आवश्यकतामा समेत जोड दिए।
बीमा सेवालाई गाउँ–गाउँ पुर्याउने, आम सर्वसाधारणलाई बुझ्ने भाषामा बीमाको महत्व बुझाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।

 

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार  १३ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।