बाढीमा बेपत्ताको बीमादाबी गर्न मृत्यु दर्ता नचाहिने


काठमाडौँ । गत भदौ १० गतेको रसुवा बाढीबाट प्रभावित जीवन बिमा गरेकाको परिवारलाई राहत पुग्ने गरी बिमा रकम भुक्तानी प्रक्रिया सहज बनाइएको छ । नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनी तथा लघु जीवन बिमा कम्पनीलाई मृत्यु दाबी, बिमालेख समर्पण, बिमालेख धितो कर्जा र बिमा अवधि पूरा भएपछि पाइने रकम भुक्तानी गर्दा आवश्यक कागजात तथा प्रक्रियामा सहजीकरण गर्न निर्देशन दिएको हो ।

विपतका कारण कागजात नष्ट भएको, हराएको वा आवश्यक प्रक्रिया पूरा गर्न कठिनाइ भएको अवस्थालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जारी गरेको निर्देशन अनुसार ल्हेन्दे खोला, भोटेकोशी, त्रिशूली र नारायणी नदी प्रणालीमा आएको बाढीबाट प्रभावित बिमित तथा उनीहरूका हकवालाले बिमा रकम प्राप्त गर्न पहिलेको तुलनामा सहज प्रक्रिया अपनाउन पाउने भएका छन् ।

निर्देशन अनुसार बाढीका कारण मृत्यु भएका बिमितको बिमा दाबी गर्दा निवेदनमा बिमितको नाम, मृत्यु भएको मिति र कारण, बिमालेख नम्बर तथा दाबीकर्तासँगको नाता खुलाए पुग्ने छ । निवेदनसँग बिमित र दाबीकर्ताबिचको नाता प्रमाणित हुने कागजात तथा दाबीकर्ताको परिचय खुल्ने सरकारी निकायबाट जारी परिचयपत्र पेस गर्नुपर्ने जनाइएको छ ।

यसका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जामध्ये कुनै एक कागजात प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ । बाढीका कारण बिमितको मृत्यु भएको वा बेपत्ता भएको प्रमाणित गर्न अधिकार प्राप्त निकाय वा अधिकारीबाट जारी गरिएको प्रमाणित विवरण वा सिफारिस पत्रलाई आधार मान्न सकिने व्यवस्था गरिएको छ । आवश्यक अवस्थामा मृत्युको न्यायिक घोषणालाई पनि प्रमाणका रूपमा स्वीकार गर्न सकिने छ ।

बाढीका कारण सक्कल बिमालेख नष्ट भएको वा उपलब्ध हुन नसकेको अवस्थामा बिमा कम्पनीको अभिलेखमा रहेको बिमालेखको प्रतिलिपिका आधारमा दाबी प्रक्रिया अघि बढाउन सकिने छ । त्यस्तो कागजातमा सम्बन्धित व्यक्ति बाढी वा विपत्मा परी मृत्यु भएको वा बेपत्ता भएको व्यहोरा खुलाइएको हुनुपर्ने छ ।

प्राधिकरणले बिमा कम्पनीबाट जारी गरिएका बिमासम्बन्धी कागजात नष्ट भएको अवस्थामा पनि बिमितको हितलाई ध्यान दिन निर्देशन दिएको छ । त्यस्तै बिमितले बिमालेखको प्रतिलिपि माग गरेमा सम्बन्धित बिमा कम्पनीले निःशुल्क उपलब्ध गराउनुपर्ने छ ।

त्यस्ता कागजातको विवरण प्राप्त गरी अभिलेख अद्यावधिक राख्न बिमित तथा बिमा अभिकर्ताले सम्बन्धित कम्पनीलाई सहयोग गर्नुपर्ने छ । बाढीका कारण बिमाशुल्क वा बिमालेख कर्जाको नियमित किस्ता तिर्न नसक्ने बिमितलाई पनि राहत दिइने भएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।