लाभकर गणनामा कागजी प्रक्रिया नहटेसम्म शेयर कारोबारको राफसाफ नगर्ने सहमति

0
Shares

शेयर बजारका लगानीकर्ता र ब्रोकरहरुले शेयर कारोबारको पूँजीगत लाभकर गणनामा कागजी प्रक्रिया नहटेसम्म शेयर कारोबारको राफसाफ नगर्ने सहमति गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर सरोकारवाला निकायहरुको ध्यानकर्षण गराउने निर्णय समेत गरेका छन् ।

लगानीकर्ताहरुले शेयर बिक्री गरेपश्चात लाभकर गणनाका लागि ब्रोकर कार्यालयमा गएर फारम भर्ने तथा ल्याप्चे लगाउने कार्य नगर्ने र नगराउन समेत आग्रह गरेका छन् । लगानीकर्ताको यस्तो आग्रह पश्चात ब्रोकरहरुले समेत कारोबारको राफसाफ नगर्ने सहमति जनाएका छन् ।

ब्रोकर कार्यालयमा स्वयंम उपस्थित भई लगानीकर्ता आफैंले पूँजीगत लाभकर गणना गर्नुपर्ने, शेयर किनेको रकम, रसिद फेला नपारे अंकित मूल्यलाई नै आधार मानेर लाभकर कट्टा हुने व्योहोराको सूचना ब्रोकर संघले जारी गरेपछि लगानीकर्ता आन्दोलित बनेका थिए ।

यता ब्रोकरहरुले पनि यो विधि अव्यहारिक भएको बताउँदै आएका छन् । लगानीकर्ताको मागलाई साथ दिएका ब्रोकरहरुले पनि कारोबार राफासफा रोकेका छन् ।

कारोबारको राफसाफ रोकिए पनि शेयर कारोबार भने सुचारु रहेको छ । पौने एक घण्टाको अवधिमा शेयर बजार केहि घटेको छ भने यसबीचमा ६८ कम्पनीको २ करोड २० लाख बराबरको शेयर किनबेच भएको छ ।