केन्द्रिय निक्षेप प्रणाली सिडिएससीले मेरो शेयरको पासवर्ड रिसेट प्रयोगकर्ता आफैंले गर्न सक्ने व्यवस्था गर्ने भएको छ ।
पछिल्ला दिनमा मेरो शेयरका प्रयोगकर्ताको संख्या तिब्र दरमा बढिरहेका बेला पासवर्ड बिर्सिनेको संख्या पनि उत्तिकै देखिन थालेको छ । जसका कारण निक्षेप सदस्यहरुकोमा मेरो शेयरको पासवर्ड रिसेट गर्न जानेहरुको संख्या बढशन थालेको छ ।
हाल सिडिएससीले पासवर्ड रिसेट गर्ने फिचर निक्षेप सदस्यहरुलाई मात्र दिएको छ । जसका कारण पासवर्ड बिर्सिएका मेरो शेयरका प्रयोगकर्ता आफैंले पासवर्ड रिसेट गर्न सक्ने अवस्था छैन । धेरै जसो प्रयोगकर्ताले मेरो शेयरको पासवर्ड याद नगर्ने हुँदा निक्षेप सदस्यकोमा पुगेर वा इमेल मार्फत पासवर्ड रिसेट गरिदिन आग्रह गर्दै आएका छन् । यसरी प्रयोगकर्ताबाट आएको आग्रहका आधारमा निक्षेप सदस्यहरुले थप कर्मचारी खटाएर पासवर्ड रिसेट गरिदिँदै आएका छन् ।
निक्षेप सदस्यहरुले सिडिएससीको काम आफुहरुले गरिरहनु परेको भन्दै छिटो यो फिचर सेवाग्राहीलाई दिन ताकेता गरिरहेका छन् । यसबाट आफुकहाँ सेवाग्राहीको चाप कम हुने निक्षेप सदस्यहरुको बुझाई छ ।
सिडिएससीका प्रवक्त सुरेश न्यौपानेका अनुसार अहिलेको मेरो शेयरको प्रणालीमा नै केही सुधार गरेर मात्र प्रयोगकर्तालाई पासवर्ड रिसेट गर्ने फिचर उपलब्ध गराउन सकिन्छ । यसका लागि आन्तरिक रुपमा गृहकार्य भईरहेको बताएका न्यौपानेले निकट भविष्यमा नै फिचर थप गरिने बताए ।
मंगलबार सम्ममा केन्द्रिय निक्षेप प्रणालीमा आबद्ध ७६ निक्षेप सदस्यकोमा डिम्याट खाता खोल्नेहरुको संख्या २२ लाख १५ हजार ७११ पुगेको छ । जसमा ५० प्रतिशतभन्दा धेरैले मेरो शेयर सुविधा लिएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया