दुर्गा प्रसाई २८ लाख रुपैयाँ धरौटीमा रिहा


काठमाडौँ । पाटन उच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहाइ भएका छन् । सोमबार सो अदालतले २ वटा मुद्दामा प्रसाईसँग २८ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

उच्च अदालतले प्रसाईलाई तीनकुने घटनाका सम्बन्धमा ३ लाख रुपैयाँ र बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । अदालती प्रक्रिया पूरा भएपछि कारागारले सोमबार राति प्रसाईलाई रिहा गरेको हो ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय टङ्कप्रसाद गुरुङ र डिल्लीराज श्रेष्ठको संयुक्त इजलाशले प्रसाईसहित सुशील बराल, डण्डपाणि रेग्मी, तारा राजावादी भन्ने सरोज गौतमलाई धरौटी माग गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतले यसअघि प्रसाईलाई राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, बज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध प्रसाईले उच्च अदालतमा निवेदन दिएका थिए । त्यस्तै, पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलाशले पनि बैंकिङ कसुर मुद्दामा धरौटी माग गरेको थियो ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार  ०६ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।