राजधानीमा सुरु भयो सवारी साधनको कुम्भ मेला ‘नाइमा मोबिलिटी एक्स्पो’, फाइनान्स सेवा प्रदर्शनीस्थलमै


पछिल्लो समय नेपाली बजारमा आएका विभिन्न नयाँ ब्राण्डका सवारी साधन र पुराना ब्राण्डहरुले आफ्ना उत्पादनको शोकेशका लागि राजधानीको भृकुटीमण्डपमा सवारी सानको कुम्भ मेला सुरु भएको छ । भर्खरै स्थापना भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा० ले आयोजना गरेको सो मेलामा विभिन्न ब्राण्डका कम्पनीहरुले नयाँ मोडलका सवारी साधनहरु लञ्च गरेका छन् भने साविकका मोडल पनि प्रदर्शनीमा राखेका छन् ।

नयाँ गाडीहरु लञ्च गर्ने होडबाजी चलेको एक्स्पोमा ग्राहकलाई दिने छुट तथा अफरहरुमा पनि ब्राण्डहरुमा प्रतिस्पर्धा देखिएको छ । बिहान ९ बजेदेखि सुरु भएको एक्स्पोको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए । उनले नाइमाले स्थापनाको छोटो समयमा नै भव्य एक्स्पो आयोजना गरेर संस्था स्थापनाको औचित्व पुष्टि गरेको भन्दै अटो क्षेत्रका विद्यमान समस्या र समाधानका विषयमा सम्बोधन गरेका थिए ।

नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले नेपालको अर्थतन्त्रमा अटो क्षेत्रको महत्वपुर्ण योगदान रहेको भन्दै मोबिलिटी क्षेत्रको दीर्घकालीन स्थायित्वका लागि सरकारको ध्यानाकर्षण गराएकी थिइन् । उनले पछिल्लो समय विद्युतीय सवारी साधनको आयात बढ्दा त्यसको इको पष्टिमले हजारोँदाई रोजगारी दिएको र यो क्रम बढ्दै जाने बताइन् । यसका अलावा उपभोक्ताले पनि धेरै विकल्पहरु पाउनेृ अवस्था बने उनको भनाई थियो । हरित प्रविधि र पुर्वाधारमा अटो क्षेत्रको भूमिका बढ्दै गएको अवस्थामा नाइमाले यस क्षेत्रको सीप विकासमा पनि काम गरिरहेको बताएकी थिइन् ।

दिउँसो २ बजेसम्ममा धेरै ब्राण्डका गाडी, मोटर साइकल तथा स्कुटरहरु लञ्च गर्ने कार्यक्रम पुरा भएपछि २ बजे सर्वसाधारणका लागि एक्स्पो खुल्ला गरिएको थियो । १८ वटा २ पाङ्ग्रे र २३ ब्राण्डका ४ पाङ्ग्रे सवारी साधनहरुले आफ्ना उत्पादनको भव्य प्रदर्शनी गरिरहेको एक्स्पोमा सबै ब्राण्डले एक्स्पोमा गाडी खरिद गर्नेहरुलाई विभिन्न किसिमका अफर तथा छुट घोषणा गरेका छन् ।

एक्स्पोमा सहकार्य गरेको एभरेष्ट बैंकले प्रदर्शनीस्थलबाट नै ग्राहकहरुलाई फाइनान्सिङ सुविधा दिने तथा सो सम्बन्धमा जानकारी दिने व्यवस्था मिलाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नाइमा एक्स्पोमा गाडी किन्न मानसिकता बनाएका सेवाग्राहीलाई बैंकले सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउने बताए । सेवाग्रहीलाई सहज रुपमा आकर्षक व्याजदरमा वित्तीय सेवा उपलब्ध गराउने उनको भनाई छ । बैंकले राष्ट्र बैंकले ताकेको मापदण्ड पुरा गरेर आउने सेवाग्रहीलाई ५ कार्य दिनमा कर्जा उपलब्ध गराउनेछ ।

गाडीका स्टल तथा मोटरसाइकलका स्टलहरुमा उमेर समुह तथा आर्थिक अवस्था अनुसारका अवलोकनकर्ताको भिड देखिएको छ । विशेष गरी युवा पुस्ताको आकर्षण पछिल्लो संस्करणका मोटरसाइकलमा देखियो भने उद्घाटन समारोहमा पुगेका उद्योगी व्यवसायी तथा आर्थिक रुपमा सम्पन्नहरु ४ पाङ्ग्रे सवारी साधनका स्टलमा व्यस्त देखिए ।

२९ लाख रुपैयादेखि झण्डै डेढ करोड रुपैयाँसम्मको मूल्यका गाडीहरु राखिएको प्रदर्शनी ५ दिनसम्म चल्नेछ ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।