भिसाले नेपालमा खोल्यो कार्यालय, व्यवसाय प्रमुखको रूपमा मनोज थापा


काठमाडौँ । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी भिसाले काठमाडौँमा नेपाल कार्यालय औपचारिक रूपमा खोलेको छ। भिसाको नेपाल कार्यालयको उद्घाटनले नगदरहित अर्थतन्त्रतर्फको देशको यात्रालाई समर्थन गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई जोड दिन्छ। यो रणनीतिक कदमले डिजिटल भुक्तानीमा पहुँच फराकिलो पार्ने र उपभोक्ता र व्यापारी दुवैका लागि निर्बाध, सुरक्षित वित्तीय समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

साथै, भिसाले नेपाल प्रमुखको रूपमा मनोज थापालाई नियुक्त गरेको घोषणा गरेको छ। नयाँ भूमिकामा, थापा स्थानीय साझेदारीलाई सुदृढ पार्ने र देशको आवश्यकताहरू पूरा गर्न सुरक्षित, नवीन डिजिटल भुक्तानी समाधानका कार्यलाई तीव्र पार्ने कुरामा केन्द्रित हुनेछन्। थापाले भिसामा बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्नेछन्।

यस घोषणाको बारेमा टिप्पणी गर्दै भिसाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “हामी काठमाडौँमा एउटा कार्यालयको साथ नेपालमा भिसाको उपस्थिति घोषणा गर्न पाउँदा उत्साहित छौँ। भिसाको नेतृत्व टोलीमा मनोजलाई स्वागत गर्न पाउँदा म पनि खुसी छु। उहाँको नियुक्तिले भिसाको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। एक सुरक्षित र सुलभ डिजिटल भुक्तानी पूर्वाधार निर्माण गर्ने भिसाको विश्वव्यापी दृष्टिकोणलाई रणनीतिक रूपमा अगाडि बढाउनेछ।“

नेपालमा जन्मेका थापा युके र भारतमा भएका शैक्षिक र व्यावसायिक अनुभवहरूले विश्वव्यापी दृष्टिकोण बनाएका छन्। उनी साना र मझौला उद्यमहरूलाई समर्थन गर्न, वित्तीय समावेशीकरणलाई बढवा दिन र दिगो सकारात्मक प्रभाव सिर्जना गर्ने विश्वसनीय सहकार्यहरू निर्माण गर्न प्रविधिको प्रयोग गर्न उत्साहित छन्।

यसअघि, उनले फोनपेमा साझेदारी र नवप्रवर्तन प्रमुखको रूपमा काम गरेका थिए, जहाँ उनले सीमापार भुक्तानी पहलहरूको नेतृत्व गरेका थिए र अन्तर्राष्ट्रिय तथा स्थानीय वित्तीय संस्थाहरूसँग प्रभावकारी गठबन्धन बनाएका थिए। त्यसअघि, भारतमा लिभक्विक टेक्नोलोजी प्रा‍‍.लि. मा वरिष्ठ व्यवसाय विकास प्रबन्धकको रूपमा, उनले कम्पनीको वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने व्यवसाय विकास प्रयासहरूको सफलतापूर्वक नेतृत्व गरेका थिए।

“नेपालमा डिजिटल भुक्तानी अपनाउने कार्यलाई तीव्रता दिने प्रयासको नेतृत्व गर्न भिसामा सामेल हुन पाउँदा म सम्मानित छु,” मनोज थापाले भने। “नवप्रवर्तन र सुरक्षित कारोबार प्रति भिसाको प्रतिबद्धता डिजिटल रूपमा सशक्त नेपाललाई सक्षम बनाउने मेरो आकांक्षासँग मेल खान्छ र म अर्थपूर्ण प्रभाव सिर्जना गर्न तत्पर छु।”

भिजा २०० भन्दा बढी देशहरू र क्षेत्रहरूमा उपभोक्ताहरू, व्यापारीहरू, वित्तीय संस्थाहरू, र सरकारी निकायहरू बीचको लेनदेनको सुविधा प्रदान गर्ने डिजिटल भुक्तानीमा विश्व अग्रणी संस्था हो।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।