नारेश्वर तालको बाँध र सिँचाइ ट्याङ्की निर्माण अन्तिम चरणमा


दमौली । जिल्लाका व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गर्न लागिएको नारेश्वरतालको बाँध र सिँचाइ ट्याङ्की अन्तिम चरणमा पुगेको छ । पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले गौरवको आयोजनाका रूपमा राखेको नारेश्वर तालमा माटो फाली पानी भर्ने तयारी गरिएको हो ।

सिँचाइ डिभिजन कार्यालयमार्फत विगत लामो समयदेखि रोकिएको बाँध निर्माण यसवर्ष पूर्णता पाएसँगै तालमा माटो फाली पानी भर्ने काम सुरु गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। नगरपालिकाद्वारा कार्यान्वयन गरिएको यो बहुउद्देश्यीय परियोजना २८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तालमा जम्मा भएको माटो निकाल्ने, पानी जम्मा गर्ने तथा वरिपरि आवश्यक संरचना निर्माण अगाडि बढाइने उनले बताए।

तालसँगै यहाँबाट पानी तानेर जम्मा गर्ने ट्याङ्की पनि निर्माण गरिएको छ । आसपासका कृषकलाई आवश्यक सिँचाइका लागि पानी वितरण गरिनेछ । योसँगै स्थानीय कृषि उत्पादन वृद्धि हुने, पर्यटन विकासमा योगदान पुग्ने र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने नगरप्रमुख न्यौपानेले बताए।

व्यास नगरपालिकाको आयोजना र गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब ४ करोड रुपैयाँ अनुमानित लागतमा निर्माण भइरहेको यस परियोजना पूरा भएपछि व्यास नगरलाई कृषि, पर्यटन र वातावरणीय दृष्टिले नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको उनले विश्वास व्यक्त गरे । उनले भने, “व्यास नगरपालिका यस परियोजनामार्फत कृषि, पर्यटन, रोजगारी र वातावरण संरक्षणमा समान रूपले योगदान पु¥याउने लक्ष्यसहित अगाडि बढिरहेको छ ।”

नगरपालिकाले कृत्रिम ताल निर्माणका लागि स्थानीयवासीलाई जग्गाबापतको १ करोड ३७ लाख ८६ हजार ५०० रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । नारेश्वर खोलाको पानी थुनेर कृत्रिम ताल निर्माणका लागि २४ रोपनी ११ आना जग्गाका लागि स्थानीयवासीलाई मुआब्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

जग्गा अधिग्रहणबापत सिम र अब्बललाई प्रतिरोपनी ५ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा वितरण गरिएको छ भने दोयमलाई प्रतिरोपनी ५ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा वितरण गरिएको जनाउँदै नगरप्रमुख न्यौपानेले २८ रोपनी क्षेत्रफलमा बाँध बाँधेर कृत्रिम ताल बनाउने योजना रहेको बताए।

ताल निर्माणका लागि १ करोड ८४ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरिएको छ । विसं २०७५ पुस २० गते गण्डकी प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ताल निर्माणको सुरुआत गर्नुभए पनि काम अगाडि बढ्न सकेको थिएन ।

३ सय मिटर लम्बाइ रहने तालको चौडाइ २८ देखि ६८ मिटरको रहने व्यास–१० का वडाध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए। तालको औसत गहिराइ २.५ देखि ३ मिटरको रहनेछ भने कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ । ८ मिटर बाँधको उचाइ रहने तालमा बाँधको चौडाइ ६.८५ (जगमा) देखि १.५० मिटर (टुप्पोमा) रहनेछ । तालको क्षमता २५ हजारदेखि ३० हजार घनमिटरको रहने उनले जानकारी दिए।

उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउँदै वडाध्यक्ष पोख्रेलले सोहीअनुसार कार्ययोजना बनाइ कार्यान्वयन भइरहेका उल्लेख गरे । “ताल निर्माण भएसँगै यहाँका स्थानीयवासीले रोजगारीसमेत पाउनेछन्”, उनले भने, “तालसँगै अन्य संरचना पनि निर्माण भएपछि पर्यटक आकर्षित गर्न सकिनेछ ।”

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार  १५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।