एशियन होटलले आइपिओ निष्काशन गर्दै


काठमाडौँ । भैरहवा लुम्बिनीमा विगत ४ वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको एशियन होटल लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले ३५ लाख कित्ता शेयर जारी गरी ३५ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ। संकलित रकमबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोर्ट्स कम्प्लेक्स, हेल्थ फिटनेस सेन्टर लगायतका पूर्वाधार विकास गरिनेछ।

शेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको छ। यस सम्बन्धी सम्झौतापत्रमा एशियन होटलका अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

सन् २०२१ मा स्थापना भएको यो होटलले बौद्ध धर्मावलम्बी र सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने उद्देश्यका साथ सेवा गर्दै आएको छ। लुम्बिनी, युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल, होटल नजिकै रहेको छ । जसले यसलाई महत्वपूर्ण पर्यटन केन्द्रको रूपमा स्थापित गरेको छ।

हाल होटलमा ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्क्वेट हल, बाह्य बगैंचा, सेमिनार तथा कन्फरेन्स हल, र डेस्टिनेशन वेडिङ्ग सुविधा उपलब्ध छन्। आईपीओ निष्काशनपछि पोखरा, काठमाडौँ र चितवनमा पनि शाखा विस्तार गर्ने योजना अध्यक्ष अधिकारीले बताए।

व्यवसाय विस्तारले स्थानीय रोजगारी सिर्जना गर्ने मात्र नभई लुम्बिनी र अन्य पर्यटकीय शहरहरूको प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।