आईपीओमा नयाँ रेकर्डः प्रभु लाइफमा तीन दिनमा ९ लाख वटा आवेदन

0
Shares

प्रभु लाइफ इन्स्योरेन्सले सोमबारदेखि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा तेस्रो दिनमा नै करिब ९ लाख आवेदकबाट साढे २ अर्बको शेयर माग गरेका छन् । तीन दिनभित्रै करिब ९ लाख वटा आईपीओमा आवेदन पर्दै यस कम्पनीमा नयाँ रेकर्ड समेत बनेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ८ लाख ९२ हजार ८५४ वटा आवेदन मार्फत २ अर्ब ४८ करोड १६ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख १६ हजार ६७० कित्ता शेयर माग भएको हो ।

कम्पनीले सर्वसाधारणमा ५४ लाख कित्ता शेयर निष्काशन गरेकोमा दोस्रो दिनसम्ममा ४.६० गुणा धेरैको माग परेको हो । दुई दिनमा ३.९४ गुणा आवेदन परेको थियो । तीन दिनमा ९ लाख वटा आवेदन पर्नुले यस निष्काशनमा आईपीओ आवेदन १० लाख नाघ्ने अनुमान गरिएको छ ।
कम्पनीले कुल ६० लाख कित्ता शेयर निष्काशन गरेकोमा ३ लाख कित्ता सामूहिक लागनीकोषहरु र अर्को ३ लाख कित्ता कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।

कम्पनीले जारी गरेको आईपीओमा इच्छुक लगानीकर्ताले पुस २ गते भित्र आवेदन दिइसक्नुपर्ने व्यवस्था छ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयहरु तथा मेरो शेयरको मोबाइल एप र वेवसाइटबाट अनलाइन आवेदन गर्न सक्नेछन् ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

जारी पूँजी २ अर्ब रहेको कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गरेका हो। हाल संस्थापक तर्फको १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि २ अर्ब रुपैयाँ चुक्तापूँजी पुग्नेछ भने संस्थापक र सर्वसाधारण शेयर अनुपात ७०ः३० प्रतिशत हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।