ब्रिटिश एजुकेशन ग्रुपद्वारा कील विश्वविद्यालयको सहकार्यमा बीएससी डाटा साइन्स कार्यक्रम शुभारम्भ


काठमाडौँ । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालयसँगको सहकार्यमा नेपालमा बीएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको छ।
काठमाडौँको होटल मेरियटमा आयोजित एक भव्य समारोहका साथ यो ऐतिहासिक कार्यक्रम सुरु भएको हो। यसले नेपालको शैक्षिक र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ।

कार्यक्रममा शिक्षा, प्रविधि, व्यवसाय, कूटनीति तथा सरकारी उच्च अधिकारीहरू, शैक्षिक विज्ञहरू, उद्यमीहरू र आकांक्षी पेशाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात ब्रिटिश एजुकेशन ग्रुपका अध्यक्ष उपेन्द्र कँडेल र कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले दीप प्रज्वलनबाट गरेका थिए ।
सो अवसरमा एआई र डाटा विषयवस्तुमा आधारित विशेष नृत्य प्रदर्शन गरिएको थियो भने ब्रिटिश कलेजको आधिकारिक एआई रोबोट ‘रोज’ले पहिलोपटक स्वागत मन्तव्य राखेकी थिइन्।

ब्रिटिश एजुकेशन ग्रुपका समूहका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले यो कार्यक्रम शैक्षिक पोर्टफोलियोमा नयाँ थप मात्र नभई दुई राष्ट्र र संस्थाबीचको साझेदारीको उत्कृष्ट उदाहरण भएको बताए ।

फिनटेक अलायन्स नेपालका अध्यक्ष साजन शर्माले ब्रिटिश कलेजसँगको सहकार्यलाई स्मरण गर्दै भविष्यमा अझ घनिष्ठ सहकार्य गर्ने उत्साह व्यक्त गरे।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार  १६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।