दाबी भुक्तानी बढाउँदै जीवन बीमा कम्पनी, कुनले कति तिरे ?


काठमाडौं । नेपालको बीमा बजार पछिल्ला वर्षहरूमा विस्तार हुँदै गएको छ। यसको प्रत्यक्ष प्रभाव जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानीमा देखिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा १४ जीवन बीमा कम्पनीहरूले बीमितलाई कुल ७८ अर्ब ७२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यो अघिल्लो आवको ६६ अर्ब ४ करोड रुपैयाँभन्दा करिब १९.२० प्रतिशतले बढी हो।

बीमाको पोलिसीहरू परिपक्व हुँदै जाँदा ग्राहकहरूले दाबी भुक्तानी पाउने क्रम बढेको हो । यस वृद्धिले बीमा बजारको परिपक्वता र विश्वसनीयतामा सकारात्मक प्रभाव पर्न थालेको जानकारहरू बताउँछन् ।

जीवन बीमा कम्पनीहरूको व्यापारिक मोडेल प्रायः दीर्घकालीन हुन्छ। पहिलो वर्षमा ग्राहकले बीमा प्रिमियम तिरेपछि कम्पनीको दायित्व तत्काल देखिँदैन। तर, पोलिसीहरूको परिपक्वता बढ्दै जाँदा बीमितलाई रकम फिर्ता गर्नुपर्ने चरण सुरु हुन्छ।

बीमा कम्पनीहरूका अनुसार असार मसान्तमा बीमा दाबी भुक्तानी अन्य समयमा भन्दा बढ्छ । त्यसले पनि समग्र वृद्धिमा प्रभाव पारेको हो ।

बीमा क्षेत्रमा बिक्री भएका पोलिसीहरू परिपक्व बन्दै जाँदा दाबी भुक्तानी स्वाभाविक रूपमा बढेको देखिएको छ। तर, अर्थतन्त्रको सुस्त गतिले यो दर अझ उच्च हुन नसकेको जानकारहरू बताउँछन् ।

कुन बीमा कम्पनीले कति भुक्तानी गरे दाबी ?

गत आवमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले कुल ७८ अर्ब ७२ करोड रुपैयाँको दाबी भुक्तानी दिएका छन् । कम्पनीहरूले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार अघिल्लो आवमा ६६ अर्ब ४ करोड रुपैयाँको दाबी भुक्तानी दिएकोमा गत वर्ष १९.२० प्रतिशत बढी दाबी भुक्तानी दिएका हुन् ।

सबैभन्दा बढी दाबी भुक्तानी दिने जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले सर्वाधिक १९ अर्ब १९ करोड रुपैयाँको दाबी भुक्तानी दिएको छ । अघिल्लो आवमा १४ अर्ब ९९ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी दिएको नेपाल लाइफले गत आवमा २८.०१ प्रतिशत बढी दाबी भुक्तानी दिएको हो ।

भने दोस्रोमा एलआईसी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १२ अर्ब ५९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा यस बीमा कम्पनीले १० अर्ब ८९ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा गत आवमा १२.५९ प्रतिशत बढी भुक्तानी गरेको तथ्यांकमा देखिएको छ ।

सर्वाधिक दाबी भुक्तानी गर्ने जीवन बीमा कम्पनीको तेस्रो नम्बरमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । अघिल्लो आवमा ८ अर्ब ३२ करोड ८२ लाख रुपैयाा दाबी भुक्तानी गरेको नेसनल लाइफले ३२.९४ प्रतिशत बढी गत आवमा भुक्तानी गरेको छ । गत आवमा नेसनल लाइफले ११ अर्ब ७ करोड रुपैयाँको दाबी भुक्तानी दिएको छ । जीवन बीमा कम्पनीहरूमध्ये यो वृद्धि सबैभन्दा बढी हो ।

त्यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ५६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा यस कम्पनीले ६ अर्ब ५६ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी दिँदा हिमालयन लाइफले ७ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।

गत आवमा एशियन लाइफले ६ अर्ब १८ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ र मेट लाइफले २ अर्ब ९४ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन् ।

त्यस्तै सिटिजन लाइफले १ अर्ब ९१ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ७७ करोड रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४३ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब २८ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँको दाबी भुक्तानी बीमितलाई दिएका छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, मेटलाइफ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स गरी तीन जीवन बीमा कम्पनीको दाबी भुक्तानी घटेको छ । अघिल्लो आवमा ४ अर्ब ५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको सूर्यज्योति इन्स्योरेन्सको गत आवमा दाबी भुक्तानी ८.९१ प्रतिशतले घटेर ३ अर्ब ६९ करोड ६७ लाख रुपैयाँमा झरेको छ ।

यस्तै अघिल्लो आवमा १ अर्ब ९८ करोड रुपैयाँ दाबी भुक्तानी गरेको सानिमा रिलायन्स लाइफको गत आवमा १०.८४ प्रतिशतले घटेर १ अर्ब ७७ करोड रुपैयाँमा सीमित बनेको छ ।

यस्तै मेटलाइफ इन्स्योरेन्सको दाबी भुक्तानी अघिल्लो आवको तुलनामा गत आवमा ८.९४ प्रतिशतले घटेको तथ्यांकमा देखिन्छ ।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।