लाभकर गणनाको विवाद कायमै रहदा शेयर कारोबार शिथिल, नेप्से सूचकमा सामान्य सुधार

0
Shares

शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर गणनाको विधि र प्रक्रियाका बिषयमा लगानीकर्ता र सरोकारवालबीच उत्पन्न विवाद साम्य नहुँदा शेयर कारोबार शिथिल देखिएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएको, तरलताको अवस्था सहज रहेको र धमाधम कम्पनीहरुले गतवर्षको वित्तीय विवरण सार्वजनिक गर्न थालेको स्थितिमा शेयर बजारमा सुधार आउने आशा गरिए पनि पूँजीगत लाभकरको विवादले बजार सामान्य रहेको छ ।

समस्या समाधानका पहल भईरहे पनि ठोस निष्कर्ष निस्कन नसक्दा शेयर बजारका लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । जसले गर्दा कारोबार सामान्य रहेको छ भने सूचक समेत सामान्य उतारचढाब देखिएको छ ।

सोमबार नेप्से सूचक २.४८ अंकले बढेर १२७१.२३ विन्दुमा पुगेको छ । १६६ कम्पनीको ३१ करोड ६६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । कुल ११ वटा समूहको कारोबार भएकोमा ३ वटा समूह बाहेक बाँकी सबै समुह सकारात्मक रहेका छन् ।

यसदिन नेपाल लाइफको सबैभन्दा धेरै २ करोड ३६ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । एनएमबि माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५.७२ प्रतिशतले घटेको छ ।