नेपाल चेम्बर र जर्जिया चेम्बरबीच आर्थिक अभिवृद्धि गर्ने समझदारी

0
Shares

नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजबीच लगानी, व्यापार र आर्थिक अभिवृद्धि गर्नेसम्बन्धी समझदारी भएको छ ।

नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाबीच आज उक्त समझदारी पत्रमा हस्ताक्षर भयो । समझदारीपत्रमा दुई देशका उद्यमी व्यवसायीबीचमा प्रचलित कानून र नियमको ढाँचाभित्र रही द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरले सम्भावना पहिचान गरिने उल्लेख छ ।

नौ बुँदे समझदारी पत्रमा दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक एवं आपसी सम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, वैदेशिक लगानी र व्यापार मेला तथा प्रदर्शनीमा सहभागी हुने उल्लेख छ ।

सो अवसरमा नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उल्लेख गर्दै व्यापार र पर्यटन विकासका लागि जलविद्युत्, सूचना प्रविधि, कृषि, स्वास्थ्य र खेलकूद क्षेत्रमा लगानी गर्न सकिने बताए ।

सन् २०१८ मा जर्जियासँगको व्यापारमा नेपालले करीब रु २३ लाखको व्यापार घाटा व्यहोर्नु परेको चेम्बरले जनाएको छ । उक्त वर्ष जम्मा रु छ लाख ७० हजारको नेपाली उत्पादन जर्जिया निर्यात भएको थियो । नेपालबाट हाते कागज, ऊनी गलैँचा, हस्तकला, चिया, कफी, चाँदीका गरगहना जर्जिया निकासी गर्न सकिने चेम्बरले औँल्याएको छ ।