म्याग्दीमा करिब १ अर्ब रुपैयाँको आलु र सुन्तला बिक्री


म्याग्दी । गत आर्थिक वार्षिकमा यहाँबाट करिब १ अर्ब रुपैयाँको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१८२ मा यहाँबाट ६० करोड रुपैयाँको आलु र ३३ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको हो ।

केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा १ हजार ८ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम ३५ रुपैयाँका दरले बिक्री हुँदा ६० करोड रुपैयाँको कारोबार भएको जानकारी दिए।

उनका अनुसार १ हजार ८ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९.५ मेट्रिकटनका दरले आलु उत्पादन भएको छ । ४ सय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको ४ हजार ७ सय ८१.३ मेट्रिकटन सुन्तला प्रतिकिलो ८० रुपैयाँका दरले ३३ करोड ४६ लाख ७० हजार रुपैयाँमा बिक्री भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए।

म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएकाले आलु र सुन्तलाको उत्पादन बढेको प्रमुख बाँस्तोलाले बताए। आव २०८०र८१ मा १ हजार ७ सय ५० हेक्टरमा ३१ हजार ४ सय ५० मेट्रिकटन आलु र २४ करोड रुपैयाँ बराबरको ३ हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै आएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् ।

सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन् ।

गत आर्थिक वर्षमा केन्द्रको ४७ लाख १४ हजार रुपैयाँ सहयोगमा ४२ वटा फार्म तथा समूहमा आवद्ध १ सय ६४ परिवार किसानले ३ सय ७० रोपनी बगैँचा सुदृढीकरण र ४० रोपनीमा विस्तार गरेका कृषिप्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिए।

खायन आलु कार्यक्रममार्फत ३ वटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकरण, सिँचाइ पूर्वाधार, ‘प्याकेजिङ’ र ढुवानीका लागि ८७ लाख ६४ हजार  रुपैयाँ अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यस वर्ष सुन्तलाजात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि ६ लाख रुपैयाँ र सुदृढीकरणका लागि १९ लाख ८० हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।

जिल्लामा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिका–९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । यसवर्ष पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा ५३ लाख ८५ हजार रुपैयाँ, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि १६ लाख ६८ हजार रुपैयाँ बजेट प्राप्त भएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले जानकारी र्दिए।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार  १३ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।