काठमाडौँ । स्वदेशी दुग्ध उद्योगका रूपमा स्थापित स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले निकट भविष्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी प्रचलित नियमावलीअनुसार आईपीओ ल्याउने जनाएको छ।
यसका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ। आज काठमाडौँमा भएको सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिजका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्य नारायण झा र नबिल इन्भेष्टमेण्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित स्वस्तिक एग्रो इण्डष्ट्रिजले “गोठदेखि भान्सासम्म” भन्ने नाराका साथ शुद्ध दही, घ्यू, चकलेट, पनिरलगायतका दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको छ। हाल धनुषाको गोदारस्थित २ बिघा जमिनमा जर्सी र होल्स्टोन जातका ३५ वटा गाईबाट दैनिक २०० लिटरभन्दा बढी दूध उत्पादन भइरहेको कम्पनीले जनाएको छ। निकट भविष्यमा गाई संख्या १०० पुर्याउने योजनासहित दुग्ध प्याकेजिङ उद्योग स्थापना गर्ने तयारी कम्पनीको छ।
कम्पनीका अनुसार, आत्मनिर्भर दुग्ध उद्योगको नमुना प्रस्तुत गर्ने लक्ष्यसहित स्वस्तिक एग्रो इण्डष्ट्रिज नेपालका उपभोक्तामाझ विश्वासिलो नाम बन्दै गएको छ।












प्रतिक्रिया